सर्वोच्च इजलासको लाइभ प्रसारण गर्न रास्वपा सांसदको माग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले सर्वोच्च अदालतका इजलासहरूको प्रत्यक्ष प्रसारण गर्न सुझाव दिएका छन् ।
आइतबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग सम्बन्धित छलफलमा बोल्दै उनले न्यायिक प्रक्रिया पारदर्शी बनाउन यस्तो व्यवस्था आवश्यक रहेको बताए ।
उनले न्याय ढिलो हुनु न्याय नपाउनु सरह हुने टिप्पणी गर्दै अहिलेको प्रणालीमा ढिलाइका कारण सर्वसाधारण प्रभावित भइरहेको बताए ।
‘पैसा हुनेहरूले निमुखालाई मुद्दा हालेर दुःख दिने परिपाटी पनि देखिएको छ,’ उनले भने ।
बोहराले अदालतले कुन मुद्दा लिने र कुन नलिने भन्ने विषयमा स्पष्टता र संवेदनशीलता आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘यदि इजलासको प्रत्यक्ष प्रसारण हुने हो भने न्यायाधीशले जथाभाबी गर्न सक्दैन, किनकि सबैले हेरिरहेका हुन्छन् । अहिले संसद पनि प्रत्यक्ष प्रसारण भइरहेको छ, संसारभरबाट हेर्न सकिन्छ ।’
उनका अनुसार प्रत्यक्ष प्रसारणले न्यायिक प्रक्रियामा पारदर्शिता बढाउने र पक्ष-विपक्षका तर्क तथा प्रमाण स्पष्ट देखिने अवस्था सिर्जना गर्नेछ ।
‘इजलासको लाइभ हुँदा दायाँ-बायाँ के भइरहेको छ, कसको तर्क के छ, सबै स्पष्ट हुन्छ,’ उनले बताए ।
