सदनमा निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक दर्ता
काठमाडौं। प्रतिनिधिसभामा दुई वटा नयाँ विधेयक दर्ता भएका छन् । सरकारले निर्वाचन प्रणालीलाई सुधार गर्ने र मतदाता नामावलीलाई अद्यावधिक गर्ने उद्देश्यसहित विधेयक दर्ता गरेको हो ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
त्यसअनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक प्रधानमन्त्रीको हैसियतमा र मतदाता नामावलीसम्बन्धी विधेयक गृहमन्त्रीको हैसियतमा अघि बढाइएको हो ।
संविधानको धारा ८४ को उपधारा (२) अनुसार समानुपातिक निर्वाचन प्रणालीमार्फत हुने प्रतिनिधिसभा निर्वाचनमा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
२०७८ सालको राष्ट्रिय जनगणनाको आधारमा जनसंख्याको अनुपातअनुसार विभिन्न समुदायको प्रतिनिधित्व प्रतिशत पुनः मिलाउन आवश्यक भएकाले विधेयक ल्याइएको प्रधानमन्त्री शाहले विधेयकमा उल्लेख गरेका छन् ।
त्यस्तै, मतदाता नामावलीसम्बन्धी विधेयकमा यसअघि अध्यादेशमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन आवश्यक भएको जनाइएको छ । २१ फागुनको निर्वाचनका लागि छुटेका मतदातालाई समेट्ने उद्देश्यले अध्यादेश ल्याइएको र त्यसलाई स्थायी कानुनी रूप दिन विधेयक अघि बढाइएको हो ।
