दुई दिनमै दुई महिलाको बिभत्स हत्या
काठमाडौं। झापामा दुई दिनको अवधिमा दुई जना महिलाको हत्या भएको छ । फरक-फरक स्थानमा हत्याको घटना भएको हो ।
प्रहरीका अनुसार एक घटनामा पतिले आफ्नै पत्नीको हत्या गरेका छन्। अर्को घटनामा एक युवकको संलग्नता रहेको पाइएको छ । दुवै घटनामा संलग्न आरोपित पक्राउ परेका छन् ।
झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका-५ कञ्चनश्रीमा मंगलबार राति करिब ११ बजे ४४ वर्षीय गोकर्ण भण्डारीले आफ्नी ३३ वर्षीया पत्नी उर्मिला भण्डारीमाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । असई छविहाङ शेर्माको नेतृत्वमा पुगेको टोलीले गोकर्णलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक उर्मिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
त्यसअघि सोमबार राति अर्जुनधारा नगरपालिका-८ कुशलचोकमा अर्की महिला २९ वर्षीया काजल बस्नेत सुवेदीको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा–५ कञ्चनबाडीका २४ वर्षीय किरण गौतम पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सोमबार राति काजल र किरण एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुल नजिकको खुला चउरमा मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद हुँदा किरणले काजललाई धकेलेका थिए । धकेलिँदा काजल कंक्रिटको प्लममा ठोक्किएर गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि विभिन्न अस्पतालमा लगिए पनि मंगलबार बिहान प्रादेशिक मेची अस्पताल भद्रपुरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका छन् ।
दुवै घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।
