`

चाेरकाे बयान-आमाको मृत्यु भयाे, बुबा बेपत्ता र जग्गाजमिन नहुँदा चोर्न बाध्य भएँ

Nepal One HD ६ जेठ २०८३ १६:२७
अपराध

काठमाडौं । रुपन्देहीको बेलहिया क्षेत्रमा भएको चोरी घटनामा पक्राउ परेका भारतीय नागरिक इमरान खानले आफू आर्थिक अभाव र जीविकोपार्जनका कठिनाइका कारण चोरी गर्न बाध्य भएको बताएका छन्।

भारतको महाराष्ट्रकाे मुम्बईमा जन्मिएका इमरानले १५ वर्षअघि आमाको मृत्यु भइसकेको, बुबाको बेपत्ता भएको र गरिखान घरजग्गा नहुँदा चाेर्न बाध्य भएकाे बयान दिएका छन् ।

उनका अनुसार जीवनयापनका लागि रोजगारी खोज्दै उनी केही महिना अघि नेपाल आएका थिए।

नेपाल आएपछि विभिन्‍न ठाउँमा सानो- ठूलो काम गरे पनि कमाइ अत्यन्त न्यून हुँदा खान र लाउनसमेत अपुग हुने स्थिति आएको इमरानले बताएका छन्। यही आर्थिक संकटले मानसिक दबाब बढाउँदै लगेपछि उनले छिटो पैसा कमाउने उपायको खोजी गर्न थाले। यस्तै अवस्थामा २०८३ वैशाख १३ गते बेलुकी बेलहिया क्षेत्रमा घुमिरहेको बेला खुला भएको तर भित्र मान्छे नदेखिएको एउटा पसलमा उनले आँखा परे। सोही क्षण उनले त्यही पसलबाट चोरी गर्ने निर्णय गरेको बयानमा उल्लेख छ।

इमरानका अनुसार उनी पसलभित्र पसेर धर्रा फोडी दुईवटा मोबाइल र केही नगद लिएर बाहिरिएका थिए। कति नगद रकम लिए भन्ने आफूलाई थाहा नभएको उनले प्रहरीसमक्ष बताएका छन्।

चोरेको नगद उनले सोही रात रक्सी, मासु र नास्तामा खर्च गरे। मादक पदार्थ सेवनका कारण आफू धिसमिस भएको र चोरेको मोबाइल कहाँ खस्यो भन्ने समेत थाहा नपाएको उनले स्वीकार गरेका छन्।

घटनापछि पसल मालिकले सीसीटीभी फुटेज अवलोकन गरी प्रहरीलाई खबर गरेका थिए। त्यसको भोलिपल्ट अर्थात् २०८३ वैशाख १४ गते प्रहरीको खोजतलासका क्रममा इमरान सुनौली बोर्डर आसपास घुमिरहेको बेला पक्राउ परेका हुन्।

पक्राउपछि प्रहरीले फुटेज देखाउँदा भिडियोमा देखिएको व्यक्ति आफू नै भएको उनले सनाखत गरिदिए। चोरी गरेको स्वीकारोक्ति बयानसमेत उनले बन्द कागजमा दिएका छन्।

आर्थिक अभावका कारण जीविकोपार्जन कठिन हुँदै जाँदा आफू गलत बाटोतर्फ धकेलिएको इमरानको भनाइले गरिबी र अपराधबीचको सम्बन्धलाई पुनः एकपटक सतहमा ल्याएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *