`

हँसिया प्रहारपछि भोलिपल्ट श्रीमानको मृत्यु, पत्नीविरुद्ध जन्मकैद माग

Nepal One HD ६ जेठ २०८३ १६:५५
अपराध

काठमाडौं । घटना गत १० वैशाखकाे हाे । विदेशबाट फर्किएका देवर नाता पर्ने श्यामलाल बुढाले गाउँमा भोज आयोजना गरे। सोही भोजमा निमबहादुर बुढा पनि सहभागी भए। साँझ घर फर्कंदा उनी अत्यधिक नशामा थिए।

त्यही बेलामा श्रीमति लिलामति घर नजिकैको बारिमा गहुँ काटिरहेकी थिइन्। उनले बयानमा भनिन्- नशामा श्रीमान घरमा जाम् भन्दै बारिबाटै चिच्याइरहनुभयो। केहीबेरपछि घर जाँदा पनि कराइरहनुभएको थियो।’

त्यसै क्षणमा उनीहरुबीच तनाव भयाे । गहुँ काट्ने हँसिया हातमै भएकाले उनले हसियाको पछाडिको फलामे भागले श्रीमानको दाहिने पाखुरामा एकपटक प्रहार गरिन्।
उनको दाबी छ- ‘गम्भीर चोट दिने उद्देश्य थिएन, चोट पनि खासै देखिएन।’ घटना राेल्पाकाे त्रिवेणी गाउँपालिका-२ काे हाे ।

यसपछि दुबैजना सोही रात एउटै बेडमा सुते। श्रीमती लिलामतिका अनुसार रक्सीको नशाबाट श्रीमान् निमबहादुर फ्रेस भएका थिएनन्।
भोलिपल्ट बिहान करिब २ बजे उनी आकस्मिक रूपमा ब्यूँझिएर ‘ढिडो खाने’ इच्छा व्यक्त गरे।
लिलामतीकाे बयान छ- ‘मैले एक-दुई चम्चा ढिडो खुवाएँ। पछि पानी मागेपछि दुई गिलास पिए। तेस्रो गिलासको आधा पनि पिउँदै गर्दा अचानक ‘ख्वाक्क–ख्वाक्क’ गरे, अचेत भए।’

लिलामतिले त्यसपछि बोलाउँदा निमबहादुर बाेलेनन् । अनि, छिमेकी बुहारी चन्द्रकुमारी बुढालाई बोलाइन् । जतिबेलासम्ममा निमबहादुरको श्‍वासप्रश्‍वास राेकिसकेकाे थियाे ।
लिलामतीले घटनालाई ‘अचानक मृत्यु’ को रूपमा व्याख्या गरेकी छन्। तर, प्रहरीले गरेकाे पाेलिग्राफ परीक्षण प्रतिवेदनले घटनाकाे अनुसन्धान माेडियाे ।

अन्तत: गहन अध्ययनपछि प्रहरीले लिलामति नै आफ्ना श्रीमानकाे हत्या घटनामा जिम्मेवार रहेकाे निष्कर्ष निकाल्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो ।

कार्यालयले बुधबार जिल्ला अदालत रोल्पामा लिलामतिविरुद्ध जन्मकैदको माग गर्दै आरोपपत्र दायर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *