तमोर करिडोर : पहाडको बस्तीमा उज्यालो ल्याउने सडक
पूर्वी नेपालको हिमाली काखदेखि तराईको समथरसम्म फैलिएको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जनजीवनको संघर्षलाई एउटै धागोमा गाँस्ने जीवनरेखा बनेर अघि बढिरहेको छ- तमोर करिडोर सडक। यो ढुंगा, माटो, ग्राभेल र कालोपत्रेले बनेको सडक मात्रै होइन, यो त पूर्वी पहाडका हजारौं नागरिकको सपना, पीडा, आशा र सम्मानसँग जोडिएको उज्यालो यात्रा हो। त्यसैले त तमोर नदीको गर्जनसँगै काखैकाख अघि बढ्ने यो सडकले आज भूगोललाई मात्र जोडेको छैन, यसले वर्षौंदेखि राज्यको पहुँचबाट टाढा रहेका गाउँहरूको मन पनि जोडिरहेको छ।
धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मकाे करिब ११० किलोमिटर सडकले आज विकासको नयाँ इतिहास कोर्दैछ। ८५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। वर्षौंदेखि धुलो, हिलो, जोखिम र पीडाको पर्याय बनेको बाटो आज आशा र सम्भावनाको मार्गमा रूपान्तरण हुँदैछ। हिजो जहाँ बिरामी बोकेर घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता थियो, आज त्यही बाटोमा एम्बुलेन्स गुड्न थालेको छ। जहाँ विद्यार्थीहरू घामपानीसँग संघर्ष गर्दै विद्यालय पुग्थे, आज त्यहाँ सहज यातायातको अनुभूति हुन थालेको छ। विकासको असली अर्थ त्यही हो, जब सडकसँगै नागरिकको जीवनस्तर पनि अघि बढ्न थाल्छ।
तमोर करिडोर सडक नेपालको रणनीतिक महत्त्व बोकेको राष्ट्रिय गौरवसँग जोडिएको मार्ग हो। यसले पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरलाई जाेडेकाे छ । याेद्रुत मार्ग हाे, जसले गर्दा यसको महत्त्व दिनप्रतिदिन बढ्दो छ। यसले नेपाललाई छिमेकी मुलुक चीन र भारतसँग सडक सञ्जालमार्फत जोड्ने सम्भावना पनि बोकेको छ। व्यापार, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यको दृष्टिले यो मार्ग पूर्वी नेपालको आर्थिक मेरुदण्ड बन्न सक्ने आधार बोकेको छ। कुनै समय दुर्गम भनेर चिनिएका बस्तीहरू आज सम्भावनाका केन्द्र बन्न थालेका छन्।
तर, विकासको यात्रामा अझै केही अधुरा पीडाहरू छन्। धनकुटा जिल्लामा पर्ने रगुवा खोला, बकुवा खोला, छरुवा खोलामा पक्की पुल निर्माणको काम पूर्ण हुन सकेको छैन। धनकुटा र पाँचथरको सीमामा पर्ने नावा खोला पक्की पुल अझै प्रतीक्षामै छ। लखुवा खोला र लोरीपा खोलामा पुल नहुँदा वर्षायाममा स्थानीय नागरिकले असाध्यै दुःख भोग्नुपरेको छ। स्थानीयकाे एउटै प्रश्न छ- हामीले सुरक्षित यात्रा गर्ने दिन आखिर कहिले आउँछ ?
जब वर्षा लाग्छ, तमोर नदीको गर्जनसँगै खोलाहरू उर्लिन्छन्। सडक अवरुद्ध हुन्छ, यात्रुहरू बीच बाटोमै रोकिन्छन्, बिरामीहरू अस्पताल पुग्न सक्दैनन्, किसानका उत्पादन बजारसम्म पुग्न पाउँदैनन्। विकासको मूल उद्देश्य नागरिकलाई सहजता दिनु हो भने अब यी पुलहरू निर्माण गर्नु केवल पूर्वाधारको काम होइन, यो त जनताको जीवनसँग जोडिएको अत्यावश्यक दायित्व हो। सडकले गति दिएको छ, अब पुलहरूले सुरक्षा र स्थायित्व दिनुपर्छ।
पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका र कुमायक गाउँपालिकाजस्ता विकट भूभागहरू कुनै समय राज्यको पहुँचभन्दा निकै टाढा थिए। सडक नहुँदा त्यहाँका युवाहरू अवसरको खोजीमा गाउँ छोड्न बाध्य थिए। खस-आर्य, आदिवासी जनजाति, दलितलगायत विभिन्न समुदायका मानिसहरू आफ्नै जन्मभूमिबाट विस्थापितजस्तै बनेका थिए। शिक्षा, स्वास्थ्य, रोजगार र बजारको अभावले गाउँहरू सुनसान बन्दै गएका थिए। घरमा ताला लाग्थे, खेतबारी बाँझिन्थे, वृद्धबृद्धाहरू एक्लै जीवन बिताउन बाध्य हुन्थे। तर, आज परिस्थिति विस्तारै बदलिन थालेको छ। तमोर करिडोर सडकले ती गाउँहरूमा नयाँ आशा जगाएकाे छ । सडक पुगेपछि गाउँ फर्किनेहरूको संख्या बढ्दै गएको छ। युवाहरूले कृषि, पशुपालन, पर्यटन र साना व्यवसायतर्फ नयाँ सपना देख्न थालेका छन्। हिजो बसाइँसराइको पीडाले रित्तिएका बस्तीहरूमा आज फेरि चहलपहल बढ्न थालेकाे आभास हुन थालेकाे छ । सडकले दूरी मात्रै घटाएको छैन, यसले गाउँको आत्मविश्वास पनि फर्काएको छ।
तमोर नदीको सुस्केरा सुन्दै, हरिया पहाडका काखैकाख यात्रा गर्दा जो कोहीको मन रोमाञ्चित हुन्छ। पाँचथरको तुम्बेवा र कुमायक गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हुन्। त्यहाँका डाँडाकाँडा, स्वच्छ हावा, सांस्कृतिक विविधता र तमोर नदीको मनमोहक दृश्यले यात्रुलाई मोहित बनाउँछ। प्रकृतिप्रेमी र आन्तरिक पर्यटकहरूका लागि तमोर करिडोर सडक कुनै स्वर्गीय यात्राभन्दा कम छैन। नदीको आवाज, पहाडमाथि घामको पहिलो किरण र बाटोभरि देखिने सुन्दर दृश्यहरूले यो यात्रालाई अविस्मरणीय बनाइदिन्छ।
तमोर करिडोरले पूर्वी नेपालको धार्मिक पर्यटनलाई पनि नयाँ आयाम दिएको छ। ताप्लेजुङको प्रसिद्ध पाथिभारा मन्दिर जाने यात्रुहरूका लागि यो मार्ग अत्यन्त द्रुत मार्ग बनेकाे छ। यदि बाँकी पुलहरू निर्माण सम्पन्न भए भने हजारौं धार्मिक पर्यटकले सहज यात्रा गर्न सक्नेछन्। त्यसले स्थानीय होटल व्यवसाय, कृषि उत्पादन, हस्तकला र रोजगारमा प्रत्यक्ष प्रभाव पार्नेछ। पर्यटन केवल घुमघाम होइन, यो स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने शक्तिशाली माध्यम पनि हो।
आज तमोर करिडोर सडक पूर्वी नेपालको परिवर्तनको प्रतीक बनेको छ। यो सडकले राज्यलाई सम्झाइरहेको छ कि विकास शहरमा अग्ला भवन बनाउनु होइन, दुर्गम गाउँसम्म सम्मानपूर्वक बाँच्ने आधार पुर्याउनु पनि हो। विकास तब पूर्ण हुन्छ, जब विकट गाउँका नागरिकले पनि आफू राज्यबाट टाढा छैनन् भन्ने अनुभूति गर्न पाउँछन्। तमोर करिडोरको यात्रामा अझै धेरै काम बाँकी छन्। पुलहरू बन्न बाँकी छन्, केही सडक स्तरोन्नति हुन बाँकी छन्, सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता अझै छ। तर आजको उपलब्धि पनि कम गौरवपूर्ण छैन। वर्षौंदेखि ओझेलमा परेका भूगोलहरू आज राष्ट्रिय विकासको नक्सामा स्पष्ट देखिन थालेका छन्।
यो सडकले दिएकाे सन्देश हाे- यदि राज्यले चाह्यो भने दुर्गम भनिएका भूभागहरू पनि सम्भावनाका केन्द्र बन्न सक्छन्। तमोर नदीजस्तै निरन्तर बगिरहने विकासको यात्राले अब पूर्वी नेपालका गाउँहरूमा नयाँ उज्यालो ल्याउने विश्वास पलाएको छ। यसर्थ, तमोर करिडोर सडक एउटा मार्ग होइन, यो पूर्वी नेपालको मुटुको धड्कन हो। यो संघर्ष, सपना, पीडा, प्रेम, सम्भावना र सम्मानको संगम हो। यही सडकले हिजो टाढा पारिएका गाउँहरूलाई आज देशको विकाससँग जोडिरहेको छ। शायद यही कारणले, तमोर नदीको किनारै–किनार भएर यात्रा गर्ने जो कोहीले महसुस गर्छ । यो केवल सडक होइन, यो त भावनाको यात्रा हो।
