‘बिगुल’ पूर्वराष्ट्रपति यादव, गगनदेखि माधव नेपाल सम्मले हेरे
काठमाडौं । नेपाली फिल्म ‘बिगुल’ को विशेष प्रदर्शनमा नेपालका शीर्ष राजनीतिक नेताहरूको उपस्थिति देखिएको छ । मङ्गलबार साँझ विश्वज्योति चलचित्र भवनमा आयोजित विशेष शोमा फिल्म हेर्न पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व मन्त्री प्रदीप पौडेल, सांसद अर्जुननरसिंह केसीलगायत नेताहरू पुगेका थिए ।
प्रदर्शनपछि अधिकांश दर्शक तथा नेताहरूले फिल्मले उठाएको विषयवस्तु वर्तमान नेपालको सामाजिक तथा राजनीतिक यथार्थसँग गहिरो रूपमा जोडिएको प्रतिक्रिया दिएका छन् ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयपछि हलमा पुगेर नेपाली फिल्म हेरेको उल्लेख गर्दै ‘बिगुल’ लाई देशको यथार्थ बोल्ने साहसी फिल्मको रूपमा व्याख्या गरे ।
उनको भनाइ थियो, ‘यो फिल्मले समाजको वास्तविकता उजागर गरेको छ, लामो समयपछि हलमा बसेर नेपाली फिल्म हेर्न पाउँदा राम्रो अनुभव भयो ।’
त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले ‘बिगुल’ केवल मनोरञ्जन नभई समाजलाई सोच्न बाध्य बनाउने चेतनाको माध्यम भएको टिप्पणी गरे । उनका अनुसार फिल्मले जनताको भावना र विद्यमान असन्तोषलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
फिल्मको विशेष प्रदर्शनअघि नै यसको चर्चा सामाजिक सञ्जालमा पनि व्यापक बनेको थियो । केही समयअघि विवादका कारण रोकिएको भनिएको यो फिल्म पुनः प्रदर्शनमा ल्याइएको हो ।
फिल्म ‘बिगुल’ ले देशको राजनीतिक अस्थिरता, भ्रष्टाचार, प्रशासनिक विकृति र जनआक्रोशलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । निर्देशक रमेश कोइरालाका अनुसार फिल्म कुनै व्यक्ति वा दलविरुद्ध नभई समाजमा देखिएको विकृत प्रणालीप्रति कलात्मक प्रश्न हो ।
फिल्मका निर्माता दिनेश कोइराला हुन् । प्रदर्शनपछि निर्देशक कोइरालाले फिल्मलाई समाजको ऐना बताउँदै यसले उठाएका विषय बहसका लागि आवश्यक रहेको बताए ।
फिल्ममा बेनिशा हमाल, नरेन खड्का, जेएन घिमिरे, हेमन्त बुढाथोकी, विनोद न्यौपाने, मिरा पण्डित, मान्सी शर्मा र रवीन्द्र खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको आगामी जुन २६ देखि अस्ट्रेलियाका विभिन्न सहरहरूमा समेत प्रदर्शन हुने तयारी गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
