मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
जनकपुरधाम । वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ । मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेका छन् ।
निर्देशनालयबाट प्राप्त विवरणअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर, सप्तरीमा १११ हेक्टर , बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौटहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वनक्षेत्रको जमिन फिर्ता लिइएको छ ।
अतिक्रमित वनक्षेत्रमा खेतीपाती, गोठनिर्माण, होटल तथा पसल सञ्चालन, घरसमेत निर्माणगरी बसोबास भइरहेको थियो । निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार ५९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए । अतिक्रमित वनक्षेको जमिन खाली गर्ने प्रक्रिया सुरु गरिएको तथा त्यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।
लामो समयदेखि अतिक्रमित वनक्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारले पहल गरिरहेको जनाइएको छ । यसका लागि प्रशासनिक संयन्त्रले एक्लै समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय संयन्त्रको समन्वय आवश्यक रहकाले त्यसतर्फ काम भइरहेको निर्देशक जयसवालले उल्लेख गरे ।
हाल नेपालमा ४५ प्रतिशत भू–भाग वनले ढाकेको भए पनि मधेस प्रदेशमा मात्र तीन दशमलव ७२ प्रतिशत भूभाग वनक्षेत्रले ढाकेको छ । प्रदेशभरि दुई लाख दुई हजार २०२ हेक्टर जमिनमा वनक्षेत्र रहे पनि १३६ स्थानीय तहमध्ये ८९ वटामा वनक्षेत्र नै नभएको बताइएको छ ।
जसमध्ये मधेसको कुल वनक्षेत्रमध्ये आठ प्रतिशत वनक्षेत्र अतिक्रमणमा परेको हो ।
