`

प्राविधिक शिक्षातर्फ आकर्षण बढाउन ‘सीप च्याम्पियनसिप’

Nepal One HD ६ जेठ २०८३ २१:०७
समाचार

लुम्बिनी। युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिँदै छ ।

लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारीको सिर्जना गर्ने लक्ष्य राखिएको छ । रुपन्देही उद्योग सङ्घको आयोजनामा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वयमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यही जेठ ८ गते कार्यक्रम आयोजना गरिएको सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबीच असन्तुलनको अवस्था रहेको भन्दै यसबाट रोजगारदाता तथा रोजगारी खोजिरहेका युवाबीच प्रभावकारी समन्वयको आवश्यकता अझ बढी महसुस गरी यस किसिमको कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा अध्ययनरत प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धा गराइनेछ । यस्तै प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिमको वर्तमान अवस्था, चुनौती र अवसरसम्बन्धी विषयमा विज्ञहरूसँग प्यानल छलफलसमेत गरिनेछ ।

उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै सीप विकास संस्कृतिको प्रवद्र्धन गर्नु, सरकार, रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगारी खोजिरहेका युवालाई एउटै मञ्चमा ल्याउनु तथा प्राविधिक शिक्षा र सीपमूलक तालिमप्रति युवाको आकर्षण अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष रहेको अध्यक्ष पराजुलीले बताउनुभयो ।

यस्तै सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीचको दूरी कम गर्दै उद्योग र शिक्षालयबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने, युवालाई वृत्ति परामर्श, प्राविधिक शिक्षा तथा रोजगारीका अवसरबारे जानकारी प्रदान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रममा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, सीप विकास एकाइ तथा रोजगार सूचना केन्द्रले उपलब्ध गराउने सेवाबारे जानकारी प्रदान गरिनेछ ।

आयोजक संस्थाका अनुसार कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको सहभागिता रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *