`

पाँच हजार रुख कटान गरिने

Nepal One HD ६ जेठ २०८३ २१:१२
समाचार

बागमती। बागमती प्रदेश सरकारले आफ्नै स्थायी प्रशासनिक भवन निर्माणको तयारी थालेसँगै हेटौँडा–१६ र १७ क्षेत्रमा रहेका सामुदायिक वनमा रुख छपान तथा कटान कार्य सुरु भएको छ ।

प्रदेश सरकार गठन भएको सात वर्षपछि पहिलो पटक मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवासलाई एउटै परिसरमा राख्ने गरी एकीकृत प्रशासनिक संरचना निर्माणको योजना अघि बढाइएको हो ।

यसका लागि हेटौँडा उपमहानगरपालिका–१६ र १७ मा रहेको ३१ दशमलव दुई हेक्टर वन क्षेत्र प्रदेश सरकारलाई भोगाधिकार स्वरूप उपलब्ध गराइएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशीले जानकारी दिनुभयो ।

प्रमुख चन्द्रवंशीका अनुसार निर्माणस्थल खाली गर्न हाल रुख छपानको काम भइरहेको छ । रुख छपानको कार्य सम्पन्न भएपछि केही दिनभित्र रुख कटान सुरु गरिने छ । आयोजनाका लागि विभिन्न प्रजातिका पाँच हजारभन्दा बढी रुख काट्न वन विभागले अनुमति दिइसकेको प्रमुख चन्द्रवंशीले बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजनाको क्रममा पाँच हजार दुई ४४ रुख कटान गरिनेछन् । तीमध्ये सबैभन्दा बढी सिसाँै र खोटे सल्लाका रुख रहेका छन् । रुख कटानबाट ठूलो परिमाणमा काठ तथा दाउरा उत्पादन हुने अनुमान गरिएको प्रमुख चन्द्रवंशीले बताउनुभयो ।

प्रदेश सरकार र सङ्घीय वन तथा भू–संरक्षण विभागबीच वन क्षेत्र उपयोगसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रशासनिक भवन निर्माण प्रक्रियालाई तीव्रता दिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *