पत्रकारलाई धम्की दिने डाक्टर पक्राउ
काठमाडौं । पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका-१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक-पटक धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका-६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनासम्बन्धी समाचार तयार गरेका थिए ।
समाचार सार्वजनिक भएपछि डा. झाले उक्त समाचार हटाउन दबाब दिएको, फोन तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिएको आरोप लगाइएको छ ।
दबाब र धम्की बढेपछि पत्रकार अलीले नेपाल पत्रकार महासंघलाई जानकारी गराएका थिए । त्यसपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
महासंघले कुनै समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउन सकिने भए पनि पत्रकारलाई धम्की दिने र दबाब सिर्जना गर्ने कार्य प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गरेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
