‘एलिफेन्ट्स इन द फग’ : ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट दृश्य’
काठमाडौं। अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ बुधबार विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ ।
प्रिमियरअघि निर्देशक शाहसहित फिल्मका मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे र चयन अधिकारीलगायतले कान्सको रेड कार्पेटमा सहभागिता जनाएका थिए ।
प्रिमियरपछि फिल्मले दर्शक तथा अन्तर्राष्ट्रिय फिल्मकर्मीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ । हलभित्र फिल्म सकिएपछि लामो समयसम्म ताली बजाएर दर्शकले सम्मान व्यक्त गरेका थिए ।
प्रसिद्ध बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यपले लेटरबक्स्ड मार्फत फिल्मको खुलेर प्रशंसा गरेका छन् । उनले ‘एलिफेन्ट्स इन द फग’लाई हालसम्म कान्समा देखिएका उत्कृष्ट फिल्ममध्ये एक भन्दै नेपाली सिनेमाको ठूलो फड्को भएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो । ‘एलिफेन्ट्स इन द फग’ मार्फत नेपाली फिल्मले ठूलो फड्को मारेको छ ।’
अनुरागले यसअघि आएका नेपाली फिल्महरू,दीपक रौनियारका ‘ह्वाइट सन’ र ‘पूजा, सर’, तथा मीन बहादुर भामका ‘कालो पोथी’ र ‘शाम्बाला’पछि अविनाश विक्रम शाहले आफूलाई उत्कृष्ट निर्देशकका रूपमा प्रस्तुत गरेको पनि उल्लेख गरेका छन् ।
उनले फिल्मकी मुख्य अभिनेत्री पुष्पा थिङको अभिनयको विशेष प्रशंसा गर्दै उनलाई शक्तिशाली कलाकारको रूपमा प्रस्तुत भएको बताएका छन् ।
फिल्मको विषयवस्तु र प्रस्तुतिकरणबारे अन्तर्राष्ट्रिय मिडियाहरूले पनि समीक्षा गरेका छन् । प्रतिष्ठित म्यागजिन भेराइटीले फिल्मलाई ट्रान्सजेन्डर समुदायमाथि आधारित संवेदनशील र भावनात्मक कथा भन्दै उल्लेख गरेको छ ।
कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा चयन भएको यो फिल्म ट्रान्सजेन्डर शरणार्थीहरूको कथामा आधारित रहेको बताइएको छ । ट्रेलरमा एक आमाले जंगलमा हराएकी छोरी खोज्ने संघर्ष र त्यस क्रममा आउने चुनौतीलाई प्रस्तुत गरिएको छ ।
फिल्मले २०८१ सालमा नर्वेजियन सरफन्ड ग्रान्टमार्फत ६ लाख नर्वेजियन क्रोनर (झन्डै ७६ लाख रुपैयाँ) प्राप्त गरेको थियो ।
