`

‘राष्ट्रिय ट्रमा नीति’ तत्काल निर्माण गर्न सांसद कार्कीको माग

Nepal One HD ७ जेठ २०८३ १४:१८
जीवनशैली/स्वास्थ्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सडक दुर्घटनाका कारण बढ्दै गएको मानवीय क्षतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘राज्यले कर उठाउँछ, सडक बनाउँछ, तर आफ्ना नागरिकलाई सडकमा मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्रै होइन, त्यो राज्यको नै नैतिक र नीतिगत पराजय हुनेछ ।’

उनका अनुसार सडक दुर्घटना नियन्त्रणका लागि तत्काल राष्ट्रिय ट्रमा नीति निर्माण आवश्यक छ ।

उनले अगाडि भनिन्, ‘अघिल्ला सरकारले के गरे, कसो गरे? कहाँ चुके भन्नेकुरा हामीलाई थाहा छैन, तर नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्। अब पनि फाइल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन।’

सांसद कार्कीले थपिन्, ‘त्यसैले अब हामीले भन्न सक्नु पर्दछ नेपाली जनतालाई, तपाईँहरूले कोभिडको खोप त लगाउनुभयो, तर दिनहुँ सडकमा भइरहेका अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ, हामी दिन्छौँ। हामीले यो भन्न सक्नु पर्दछ।’

उनले निष्कर्षमा भनिन्, ‘त्यसैले म अनुरोध गर्दछु–आजैबाट हामीले राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थाल्यौँ भने भविष्यमा हुने ठूलो दुर्घटनाहरू र थुप्रै ज्यानहरूलाई हामी मर्नबाट जोगाउन सक्छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *