विपक्षीले बालेन खोजेपछि, १५ मिनेटको लागि स्थगित भएको सदन अझै चलेन
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालका अनुसार आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित गर्ने बित्तिकै सभामुख अर्याल प्रधानमन्त्री बालेन शाह र सभामुख करिब आधा घण्टा लामो भेटवार्ता भयो।
विपक्षी दलले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै ‘खोजी’ गरेपछि बैठक स्थगित गरेर सभामुख स्वयं प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
भेटवार्तामा संसद्को पछिल्लो गतिविधि, विपक्षी दलले उठाएका प्रश्न र प्रधानमन्त्रीको सदनमा उपस्थितिका विषयमा छलफल भएको बताइएको छ।
बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
तर प्रधानमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।
विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि नै संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेको स्मरण गराउँदै आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै प्रश्न उठाए ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यस सम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियममा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’
विपक्षी सांसदहरूले जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिन बिहीबार नै भएको स्मरण गराउँदै सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको अवस्थामा प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची अर्को मन्त्रीमार्फत प्रस्तुत गराएको विषयमा आपत्ति जनाएका हुन् ।
तर सभामुखले सत्तापक्षबाटै विपक्षीको प्रश्नको जवाफ दिन समय दिएका थिए । रास्वपाका सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीलाई अर्को मन्त्रीमार्फत कार्यसूची अगाडि बढाउने अधिकार रहेको स्मरण गराए ।
त्यसपछि सभामा सत्तापक्ष र प्रतिपक्षबीच सवालजवाफ सुरु भएको थियो । विवाद बढ्दै गएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
यद्यपि अझै बैठक चल्न सकेको छैन।




