`

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जन बढी बिरामी

Nepal One HD ७ जेठ २०८३ १८:१३
जीवनशैली/स्वास्थ्य

पाल्पा । पाल्पामा विषालु जंगली च्याउ सेवनका कारण दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी परेका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका–५ ताहुँ ओमभन्ज्याङ नजिकै बस्ने ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार खाम्चाको बुधबार र कामु मगरको मंगलबार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

विषालु च्याउ सेवनपछि जिल्लाका विभिन्न स्थानमा अन्य व्यक्तिहरू पनि बिरामी परेका छन् । तानसेन नगरपालिकाका ८ वर्षीय एक बालक र रम्भा गाउँपालिका ताहुँकी ५० वर्षीया महिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बालकको लुम्बिनी मेडिकल कलेजको आईसीयूमा तथा महिलाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, माथागढी गाउँपालिका–३ कसेनीका चार जनालाई उपचारपछि केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । तानसेनको भालुवन क्षेत्रका चार जना भने अझै मिसन अस्पतालमा उपचाररत छन् ।

निस्दी गाउँपालिका–४ झ्याटुङका दुई जनालाई पनि विषालु च्याउ सेवनपछि भरतपुरस्थित अस्पतालमा उपचारका लागि पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले प्रि-मनसुनको समयमा जंगलमा उम्रिने च्याउहरू प्रायः विषालु हुने भएकाले अपरिचित च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले जिल्लाका स्थानीय तहहरूलाई सचेतना कार्यक्रम सञ्चालन गर्न र जोखिम न्यूनीकरणका लागि जनचेतना फैलाउन निर्देशनसमेत दिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *