‘काजी’ र ‘मितज्यू’को बक्स अफिसमा भिडन्त
काठमाडौं। शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ देशभर प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत सार्वजनिक भएका यी दुवै फिल्म एकअर्कासँग प्रतिस्पर्धा गर्दै हलहरूमा रिलिज भएका हुन् ।
यी दुई फिल्मको एकसाथ प्रदर्शनलाई फिल्म क्षेत्रमा ‘स्टार वार’ का रूपमा समेत हेरिएको छ । किनभने ‘काजी’ मा विपिन कार्की मुख्य भूमिकामा छन् भने ‘मितज्यू’ मा दयाहाङ राई र सौगात मल्लको जोडी देखिएको छ । यी कलाकारहरूको प्रतिस्पर्धाले दर्शकबीच चासो बढाएको छ । यद्यपि, देशभरका सबै हलमा यी फिल्मले पूर्ण एकल प्रदर्शन भने पाउन सकेका छैनन् ।
‘काजी’
विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘काजी’ लाई क्लासिक प्रेमकथामा आधारित भनिएको छ । फिल्मको निर्देशन लक्ष्मण रिजालले गरेका हुन् ।
फिल्ममा विपिन कार्कीसँगै केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्याललगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भारद्वाजले लेखेको फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत रहेको छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो फिल्म ग्रामीण परिवेशमा आधारित छ । अभिनेता विपिन कार्कीले यसलाई आफ्नो करियरकै महत्वपूर्ण फिल्ममध्ये एक बताएका छन् ।
‘मितज्यू’
‘मितज्यू’ मा दयाहाङ राई र सौगात मल्लको जोडी पुनः पर्दामा देखिएको छ । यी दुईको उपस्थितिलाई नै फिल्मको प्रमुख आकर्षण मानिएको छ ।
यस फिल्मबाट टेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगरसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई र खड्गबहादुर पुनमगरलगायत कलाकारको अभिनय छ ।
जनक घर्ती मगरको निर्माण रहेको फिल्म ग्रामीण परिवेशमा आधारित छ र यसले मित्रता तथा सामाजिक द्वन्द्वको कथा प्रस्तुत गर्ने बताइएको छ । फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन् ।
