`

औषधी अभावले उपचारमा समस्या

Nepal One HD ८ जेठ २०८३ १२:०२
जीवनशैली/स्वास्थ्य

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी तथा उपचारका लागि आवश्यक सामग्री अभाव भएपछि बिरामीहरू थप समस्यामा परेका छन् । उपचारका लागि आएका सेवाग्राहीले आवश्यक सेवा नपाउँदा अन्य अस्पताल जानुपर्ने बाध्यता बढेको छ ।

अस्पताल नजिक रहेका दुई वटा मेडिकलमा समेत चिकित्सकले सिफारिस गरेका औषधी उपलब्ध नभएपछि बिरामीहरूले महँगो खर्च गरेर अन्य जिल्लाका अस्पतालमा जानुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने प्रमुख स्वास्थ्य संस्थामध्ये प्रतिष्ठान एक हो । तर हाल औषधी र शल्यक्रियाका लागि आवश्यक सामग्री अभावले सेवा प्रभावित भएको छ ।

हालै गुठीचौर गाउँपालिका–५ देपालागाउँकी माया नेपालीले एपेन्डिसाइटिसको शल्यक्रिया गराउन आवश्यक सामग्री उपलब्ध नभएपछि नेपालगन्जस्थित भेरी अस्पताल जान बाध्य भएको उदाहरणसमेत सार्वजनिक भएको छ ।

प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द्वबहादुर शाहीका अनुसार अघिल्लो वर्ष खरिद गरिएका औषधी सकिएपछि यस वर्षको ठेक्का प्रक्रिया अघि बढाउन नसक्दा समस्या उत्पन्न भएको हो । करिब १६ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रिया रद्द भएपछि औषधी तथा सामग्री अभाव भएको उनले बताए ।

शाहीका अनुसार अस्पतालमा आवश्यक औषधी तथा उपकरण खरिद गर्न र कर्मचारीलाई पारिश्रमिक दिनसमेत कठिनाइ भइरहेको अवस्था छ ।

प्रतिष्ठानले तत्काल आपूर्ति व्यवस्था नहुँदा स्वास्थ्य सेवा प्रवाहमा थप दबाब सिर्जना भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *