`

एक हजार ९२२ जना सवारी चालक कारबाहीमा

Nepal One HD ९ जेठ २०८३ ११:४७
समाचार

काठमाडौँ ।काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको विशेष जाँच अभियानका क्रममा एक हजार ९ सय २२ जना सवारी चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट १९ लाख ७० हजार २ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ सय १८ जना, राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने १ सय ९८ जना, रातो बत्ती उल्लङ्घन गर्ने १ सय २६ जना तथा तीव्र गतिमा सवारी चलाउने १ सय ३१ जना चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरी, लेन मिच्ने ७३ जना, फुटपाथमा सवारी चलाउने ९० जना, हर्न निषेध क्षेत्र उल्लङ्घन गर्ने ९५ जना, एकतर्फी सडकमा सवारी चलाउने १ सय ५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ९ सय ८६ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको भन्दै चालकले त्यस्तो अवस्था देखिएमा यात्रुले तत्काल नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन आग्रह गरेको छ ।

यसैबीच, काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरेर सवारी चलाइरहेका पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत काठमाडौँको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’का क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली, लागुऔषध नियन्त्रण ब्यूरो, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले चालकहरूको विशेष परीक्षण गरेको थियो । परीक्षणका क्रममा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि पाँच जना चालकलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा दुई जना बस चालक, एक जना मिनी ट्रक चालक, एक जना लाइट गाडी चालक र एक जना हात्ती भ्यान चालक रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार संयुक्त टोलीले गरेको स्वास्थ्य परीक्षण र प्रारम्भिक जाँचका क्रममा चालकहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *