ऐश्वर्या राय बच्चन कान्सको रेड कार्पेटमा
काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिने विषय हरेक वर्ष चर्चामा रहने गर्दछ। यस वर्ष पनि उनी अन्ततः कान्समा सहभागी भएकी छन्।
यसअघि बलिउडबाट आलिया भट्ट, हुमा कुरैशी र डायना पेन्टीलगायत अभिनेत्रीहरूले पनि आफ्नो उपस्थिति जनाइसकेका थिए।
ऐश्वर्या नीलो रंगको आकर्षक गाउनमा रेड कार्पेटमा देखिएकी हुन्। विशेष डिजाइन गरिएको उक्त गाउनको तह र बनावटका कारण उनी जलपरीजस्तै देखिएकी थिइन्। गाउनसँगै उनले लामो दुपट्टा पनि प्रयोग गरेकी थिइन्, जुन दुवै हातमा बेरिएको अवस्थामा जमिनसम्म झरेको देखिन्थ्यो। उक्त गाउन डिजाइनर मोहित रायले तयार गरेका हुन्।
ऐश्वर्या राय बच्चन सन् २००२ देखि कान्स फिल्म फेस्टिभलमा नियमित सहभागी हुँदै आएकी छन्। हरेक वर्ष उनी आफ्नो अनौठो शैली र आकर्षक पहिरनका कारण चर्चामा रहँदै आएकी छन्। यस पटक भने उनी केही ढिलो गरी महोत्सवमा पुगेकी हुन्।
फ्रान्सको कान्स सहरमा भइरहेको यो महोत्सवमा विश्वभरका चलचित्रकर्मी तथा कलाकारहरूको सहभागिता रहँदै आएको छ। महोत्सवको समापन आज हुँदैछ।
