रेडियो सगरमाथाको ३० औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न
दक्षिण एशियाको पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२.४ मेगाहर्जले आज आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सव मनाएको छ ।
२९ वर्ष पूरा गरी ३० औँ वर्ष प्रवेश गरेको अवसरमा सगरमाथाले आफ्नो भनिमण्डलस्थित कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेको दाबी गरेका छन् ।
बाहिर प्रचारमा आए जस्तो सामुदायिक रेडियोको महत्व नघटेको बताउँदै उनले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । मन्त्री तिमल्सिनाले मुलुकका आमनागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको अवश्यकता रहेकोमा जोड दिए।
उनले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधिमैत्री हुँदै महत्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकाना व्यक्त गरे।
रेडियो सगरमाथाका सञ्चालक समितिका अध्यक्ष डा घमराज लुइँटेलले रेडियो सगरमाथा स्वतन्त्र सञ्चारमाध्यम तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास भएको बताउँदै स्वतन्त्र र सामुदायिक भावनालाई उजागर गर्ने रेडियोलाई सरकारले अनुदान दिएर सहयोग गर्नुपर्नेमा जोड दिए। उनले अहिलेकाृे परिवेशमा रेडियो सगरमाथालाई धान्न कठिन भइरहेको यथार्थ औल्याए।
रेडियो सगरमाथाका स्टेसन म्यानेजन उर्वशी बस्नेतले सामुदायिक उत्तरदायित्वलाई केन्द्रमा राखेर तीन दशकदेखि निरन्तर काम गर्दै आएको जानकारी गराउँदै लोकतन्त्र, समृद्धि र सामुदायिक उत्तरदायित्वको यात्रामा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे । उनले मिथ्या सूचना विरुद्ध सामुदायिक रेडियोको अभियान निरन्तर जारी राख्नुपर्ने बताए ।
दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवाका रूपमा रेडियो सगरमाथाको सुभारम्भ विसं २०५४ जेठ ९ गतेदेखि सञ्चालन भएको थियो । वार्षिक उत्सवका अवसरमा सगरमाथाले रेडियो संचालनमा विशेष सहयोग गर्ने दाता, शुभेच्छुक संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
