`

युवापुस्तामा किन बढ्दै छ ‘माइग्रेन’ र ‘नसा च्यापिने’ समस्या ?

Nepal One HD १० जेठ २०८३ १२:४२
जीवनशैली/स्वास्थ्य

काठमाडौं। युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या तीव्र रूपमा बढ्दै गएको छ । पहिले उमेर ढल्केपछि मात्रै देखिने यी समस्या अहिले किशोरावस्थादेखि नै देखिन थालेका छन् । 

विशेषगरी अनियन्त्रित ‘स्क्रिन टाइम’, लामो समयसम्म गलत आसनमा बस्ने बानी, पर्याप्त निद्राको अभाव, बढ्दो मानसिक तनाव र अस्वस्थ जीवनशैलीका कारण स्नायु प्रणालीसम्बन्धी समस्या युवामाझ सामान्य बन्दै गएका छन् ।

विशेषज्ञहरूका अनुसार माइग्रेनका बिरामीमध्ये ठूलो हिस्सा २० देखि ५० वर्ष उमेर समूहका नौजवान कामकाजी  युवा हुन् । त्यसमा पनि महिलामा यसको जोखिम अझ बढी देखिएको छ भने अर्कोतर्फ, नसा च्यापिने समस्या अहिले १६–१७ वर्षकै किशोरकिशोरीमा समेत देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

माइग्रेन भनेको सामान्य टाउको दुखाइ मात्र नभई स्नायु प्रणालीसँग जोडिएको जटिल समस्या हो। माइग्रेन हुँदा टाउकोको एक भागमा अत्यधिक पीडा हुने,नसा फुलेजस्तो भकभक गर्ने,उज्यालो सहन नसक्ने,आँखामा असर पर्ने, वाकवाकी लाग्ने तथा थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । कतिपय बिरामीलाई टाउको दुख्नुअघि नै हाई आउने,आँखा रसाउने वा शरीर गलेको महसुस हुने संकेत देखिने चिकित्सक बताउँछन् ।

माइग्रेन बढ्नुका प्रमुख कारणमा वंशाणुगत प्रभावसँगै अनियमित कम निद्रा, तनाव, अत्यधिक ‘स्क्रिन टाइम’, घाम, मौसम परिवर्तन, लामो यात्रा तथा खानपानको अव्यवस्था पर्छन् । विशेषगरी मोबाइल, कम्प्युटर र अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगले युवामा निद्रा बिग्रने, मानसिक तनाव बढ्ने र माइग्रेनको जोखिम थपिने गरेको छ ।

त्यस्तै नसा च्यापिने समस्या पनि अहिले युवामाझ तीव्र रूपमा फैलिरहेको चिकित्सकहरूको भनाइ छ । लामो समयसम्म निहुरिएर मोबाइल चलाउने, अफिसमा गलत आसनमा बस्ने, लगातार बाइक चलाउने, धेरै समय उभिने वा झुकेर काम गर्ने बानीले मेरुदण्डमा असर पुग्दा नसामा दबाब पर्न जाने र समस्या सुरु हुने गर्छ ।

मेरुदण्डको हड्डीबीच रहेको डिस्कले शरीरलाई सन्तुलनमा राख्ने काम गर्छ । तर लगातार गलत पोस्चरमा बस्दा वा अत्यधिक दबाब पर्दा उक्त डिस्कले नसालाई छोएर ढाड दुख्ने, हातखुट्टा झमझम गर्ने, गर्दन तथा कम्मर दुख्ने समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् ।

अहिले विद्यार्थी, कार्यालयमा लामो समय बस्ने कर्मचारी,चालक, खेलाडी, खेतबारीमा काम गर्ने किसान तथा भारी बोक्ने श्रमिकमा नसा च्यापिने समस्या बढी देखिएको छ । समस्या जटिल बन्दै गएमा हातखुट्टा नचल्ने, शरीर लाटो हुने, दिसापिसाब नियन्त्रणमा समस्या आउने वा पक्षघातसम्म हुन सक्ने जोखिम पनि रहन्छ ।

विशेषज्ञहरूले स्नायु प्रणालीलाई स्वस्थ राख्न दैनिक जीवनशैलीमा सुधार आवश्यक रहेको बताएका छन् । पर्याप्त निद्रा, सन्तुलित खानपान, नियमित व्यायाम, तनाव व्यवस्थापन, तौल नियन्त्रण र सही आसनमा बस्ने बानीले यस्ता समस्या धेरै हदसम्म रोक्न सकिने उनीहरूको सुझाव छ ।

बालबालिकामा पनि बढ्दो ‘स्क्रिन टाइम’ले स्नायु प्रणालीमा असर गरिरहेको चिकित्सकहरू बताउँछन् । विशेषगरी कम उमेरमै मोबाइल र ट्याबलेटको अत्यधिक प्रयोगले निद्रा, मानसिक स्वास्थ्य तथा मस्तिष्क विकासमा नकारात्मक प्रभाव पार्ने भएकाले बालबालिकालाई सीमित मात्रामा मात्रै डिजिटल उपकरण प्रयोग गर्न दिनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै वृद्धवृद्धामा देखिने डिमेन्सिया र अल्जाइमरजस्ता समस्या पनि पछिल्लो समय बढ्दै गएका छन् । पर्याप्त मानसिक सक्रियता नहुनु, निद्राको कमी, दीर्घरोग, अस्वस्थ खानपान तथा सामाजिक गतिविधिमा कमी हुनु यस्ता रोगका जोखिम कारक मानिन्छन् । चिकित्सकहरूका अनुसार यस्ता बिरामीलाई परिवारको विशेष स्याहार, नियमित औषधि, उचित खानपान र मानसिक सहयोग अत्यन्त आवश्यक हुन्छ ।

विशेषज्ञहरूका अनुसार अहिलेको प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीले स्नायु प्रणालीसम्बन्धी रोगको जोखिम बढाइरहेको छ । त्यसैले समयमै सावधानी अपनाउन सके माइग्रेन, नसा च्यापिने, स्ट्रोक तथा अन्य स्नायु रोगबाट बच्न सकिने चिकित्सकहरूको भनाइ छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *