`

राप्रपामै हुन्छ रोचक घटना, कमल थापा लेख्नुपर्नेमा लेखियो ‘कमला थापा’

Nepal One HD १० जेठ २०८३ १४:०१
बिशेष

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा एकपछि अर्कोे रोचक घटना घटेको छ । पार्टीका नवनियुक्त मुख्यसचिव प्रा.डा. जयन्तनाथ खनालले एक पत्र लेख्दै ‘निवर्तमान अध्यक्ष कमला थापा’लाई बोधार्थ पठाएका छन् । जबकि, राप्रपामा कमला थापा नामको महिला निर्वतमान अध्यक्ष छैनन् ।

तर, हालै मनोनित मुख्यसचिव खनालले राप्रपा र राप्रपा नेपालको समायोजनको विषयमा राप्रपाका जिल्ला अध्यक्षहरूलाई यही जेठ ५ गते लेखेको पत्रमा ‘श्री कमला थापा ज्यू, निवर्तमान अध्यक्ष’ भनेर बोधार्थ दिएका छन् । यसमा ‘कमला थापा’ भन्ने नाममा मात्र होइन, ‘निवर्तमान अध्यक्ष’ भन्ने पदीय हैसियत समेत त्रुटिपूर्ण छ ।

यसलाई लिएर राप्रपाभित्र अनेक खाले टिकाटिप्पणी भइरहेको छ । खनालले मुख्यसचिवको हैसियतमा जारी गरेको यो पहिलो पत्र हो, जसमा नेताको नाम मात्र नभएर पद समेतमा हेलचेक्रयाइँ गरिएको छ ।

कतिपयले यसलाई अन्जानमा भएको गल्ती नभएर नियतवश चालिएको कदम भन्ने बुझाइ राखेका छन् ।

राप्रपा र राप्रपा नेपालसँग २०८२ पौष १६ गते एकीकरण भएको थियो । एकता भएको पाँच महिना बितिसक्दा पनि अध्यक्ष राजेन्द्र लिङ्देनले समायोजनालाई पूर्णता दिन र निर्वाचन आयोगलाई एकीकरणको जानकारी दिन कुनै चासो नदेखाएपछि कमल थापा स्वयमले हालै असन्तुष्टि व्यक्त गरेका थिए ।

पौष १६ गते राप्रपा नेपालबाट राप्रपामा एकीकृत भएका नेताहरूले चुनाव मात्र लडेनन्, राप्रपाका नीतिगत निर्णयहरूमा समेत सहभागी भइसकेका छन् ।

पार्टी अध्यक्ष लिङ्देनले चुनावका कारण समायोजनमा ढिलाइ भएको भनेर दिएको स्पष्टीकरण पार्टीपंक्तिले स्वीकारेको देखिँदैन । किनभने चुनाव सकिएको पनि तीन महिना नाघिसकिएको छ । लिङ्देनले रवीन्द्र मिश्र टीम र ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरूको नामावली हालसम्म निर्वाचन आयोगमा अद्यावधिक गराएका छैनन् ।

‘लिङ्देनको खेल कमल थापा र राप्रपा नेपाललाई पेण्डुलम बनाउने र झुलाउने मात्र हो । यसै सिलसिलामा कमल थापालाई ‘कमला थापा’ भनेर सम्बोधन गरिनु, राप्रपा नेपालका अध्यक्षको रूपमा राप्रपामा जुटेका थापालाई ‘निवर्तमान अध्यक्ष’ भनेर हलुका सम्बोधन गरिनु, त्यही गलत मनसायको निरन्तरता हो । सम्मानजनक समायोजन भन्दा यसमा राप्रपा नेपाल टिमको मानमर्दन गर्ने बदनियतको गन्ध आउँछ,’ एक नेताले भने ।

यसबाहेक जिल्ला अध्यक्षहरूलाई लेखिएको पत्रको व्यहोरामा जिल्ला जिल्लामा सम्मानजक ‘दंग’ बाट समायोजन गरिने कुरा उल्लेख छ । ‘मुख्यसचिव खनालले कसले कसलाई, कसरी दंग बनाउने भन्ने कुरा चाहिँ खुलाएका छैनन्,’ एक नेताले रमाइलो टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *