`

बङ्गलादेशमा ट्रक दुर्घटना,कम्तीमा १५ जनाको मृत्यु

Nepal One HD ११ जेठ २०८३ ११:०१
समाचार

एजेन्सी। मध्य बङ्गलादेशमा सोमबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामका रड र अतिरिक्त यात्रु बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

दुर्घटना राजधानी ढाकाबाट करिब ८३ किलोमिटर उत्तर-पश्चिममा पर्ने टाङ्गाइल जिल्लाको सोराटोल क्षेत्रमा बिहान करिब ५ बजे भएको हो ।

स्थानीय प्रहरीका अनुसार चालकले ट्रकको नियन्त्रण गुमाएपछि सडकमै पल्टिएको थियो । ट्रकमा निर्माण सामग्रीसँगै यात्रुहरू पनि सवार रहेका थिए । तीमध्ये धेरैजसो यात्रुले बाटोमा ‘लिफ्ट’ लिएर यात्रा गरिरहेको बताइएको छ ।

प्रहरीले दुर्घटनापछि घटनास्थलमै धेरै यात्रुको मृत्यु भएको जनाएको छ । घाइतेहरूलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ ।

दुर्घटना इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व ईद अल-अधा नजिकिँदै गर्दा भएको हो । पर्व मनाउन देशका विभिन्न भागबाट मानिसहरू घर फर्किने क्रम बढिरहेका बेला सडकमा यात्रुको चाप उच्च रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये अधिकांश दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर थिए । उनीहरू चाडपर्व मनाउन आफ्ना परिवारसँग भेट्न घर फर्किरहेका थिए ।

प्रत्यक्षदर्शीहरूले ठूलो आवाज सुनेपछि घटनास्थलमा पुगेर उद्धार प्रयास गरेको बताएका छन् । केही यात्रु ट्रकभित्र च्यापिएको अवस्थामा भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बङ्गलादेशमा ट्राफिक नियमको कमजोर पालना, जीर्ण सडक अवस्था र लापरवाह सवारी सञ्चालनका कारण हरेक वर्ष हजारौँ मानिस सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । अधिकारीहरूले सडक सुरक्षामा सुधार आवश्यक रहेको स्वीकार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *