`

एक करोडभन्दा बढी जरिबाना तोकिएका फरार ‘राना’ कोहलपुरबाट पक्राउ

Nepal One HD १२ जेठ २०८३ ११:०७
अपराध

काठमाडौं। बाँकेको कोहलपुरबाट अदालतले एक करोड रुपैयाँभन्दा बढी जरिबाना र कैद सजाय तोकेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरले विभिन्न बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा सजाय सुनाइएका कोहलपुर नगरपालिका–१० का ३४ वर्षीय कुलिन भन्ने अविनाश रानालाई नियन्त्रणमा लिएको जनाएको हो।

प्रहरीका अनुसार राना लामो समयदेखि अदालतको फैसला कार्यान्वयनबाट बच्दै फरार अवस्थामा रहेका थिए। उनीविरुद्ध बाँके जिल्ला अदालतले फरक–फरक समयमा बैंकिङ कसुर र चेक अनादर मुद्दामा कैद तथा जरिबाना सजाय सुनाएको थियो। अदालतको आदेशपछि प्रहरीले उनको खोजी तीव्र बनाएसँगै सोमबार पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण गुप्ताका अनुसार २०८१ माघ २८ गते बैंकिङ कसुर मुद्दामा रानालाई दुई महिना कैद सजायसँगै एक करोड ३० लाख रुपैयाँ जरिबाना तोकिएको थियो। त्यसपछि २०८२ वैशाख ८ गते अर्को बैंकिङ कसुर मुद्दामा थप ९ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिबाना फैसला भएको थियो।

त्यसैगरी २०८२ जेठ २० गते चेक अनादर मुद्दामा उनलाई थप दुई वर्ष कैद सजाय सुनाइएको प्रहरीले जनाएको छ। लगातार विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएपछि उनी फरार सूचीमा रहेका थिए।

प्रहरीले विशेष सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरी उनलाई कोहलपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनलाई बाँके जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *