रौतहटमा कुटपिटपछि युवकको मृत्यु, एक पक्राउ
काठमाडौं। चन्द्रपुर नगरपालिका–४ ठाडाटोलमा भएको कुटपिट घटनामा एक युवकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार कुटपिटबाट घाइते भएका ३० वर्षीय विष्णु सुबेदीको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ मा बसोबास गर्दै आएका ३८ वर्षीय बिमल मोक्तानले सुबेदीमाथि कुटपिट गरेका थिए। घटनापछि गम्भीर घाइते भएका सुबेदीलाई तत्काल चन्द्रनिगाहपुर अस्पताल लगिएको थियो।
अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
उपचारपछि घर फर्काइएका सुबेदीको मंगलबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि पुनः चन्द्रनिगाहपुर अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले आरोपित बिमल मोक्तानलाई पक्राउ गरेको छ। मृतक सुबेदीको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
