आज यी जिल्लामा तीव्र हावाहुरीको सम्भावना,सतर्क रहन आग्रह
काठमाडौं। देशका विभिन्न स्थानमा मंगलवार दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले पाँच प्रदेशका केही जिल्लामा हावाहुरीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाका अनुसार कोसी प्रदेश अन्तर्गत झापा, मोरङ तथा आसपासका जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने सम्भावना छ।
त्यसैगरी मधेस प्रदेश का बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका क्षेत्रमा पनि मौसम प्रतिकूल बन्न सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै बागमती प्रदेश का मकवानपुर र चितवन आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव देखिन सक्ने महाशाखाले जनाएको छ। गण्डकी प्रदेश अन्तर्गत नवलपुर, तनहुँ र आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।
त्यसैगरी लुम्बिनी प्रदेश का रुपन्देही तथा आसपासका जिल्लामा पनि तीव्र गतिको हावा चल्न सक्ने चेतावनी दिइएको छ।
मौसमविद्हरूले हावाहुरीसँगै मेघगर्जन, चट्याङ तथा क्षणिक वर्षाको सम्भावना पनि रहने बताएका छन्।
खुला स्थानमा नबस्न, कमजोर संरचनाबाट टाढा रहन तथा सवारी चलाउँदा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
