`

अनौठो अवतारमा नीता

Nepal One HD १३ जेठ २०८३ ११:२३
चलचित्र

काठमाडौं। अभिनेत्री नीता ढुंगानाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पार्वती’को फस्ट लुक सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको दुई पोस्टरले फिल्म भावनात्मक, संवेदनशील तथा फरक शैलीको कथावस्तुमा आधारित रहेको संकेत गरेका छन्।

सार्वजनिक पोस्टरमा नीता ढुंगाना नेपाली फिल्ममा कमै देखिने डी-ग्लाम अवतारमा प्रस्तुत भएकी छन्। एक पोस्टरमा उनी स्कुले छात्राको पोसाक, छोटो कपाल र घाँटीमा कालो धागो लगाएको अवस्थामा देखिन्छिन्। नीलो पिनाफोरमा प्रस्तुत उनको हेराइ र मुस्कानले पात्र ‘पार्वती’ सामान्य जीवनभन्दा फरक मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको आभास गराउँछ।

अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेको दृश्य समावेश गरिएको छ। उमेरले सानो पात्रले पार्वतीलाई बोकेको दृश्यले फिल्ममा उसको भूमिका भावनात्मक सहारा र संरक्षकका रूपमा रहने अनुमान गरिएको छ। पोस्टरमा दुवै पात्रको अनुहारमा देखिएको निष्कपट मुस्कानले उनीहरूबीचको सम्बन्ध स्वार्थरहित र आत्मीय हुने संकेत गरेको छ।

त्यस्तै, नीताले आकाशतर्फ औंला देखाएको दृश्यले पात्रको सपना, कल्पनाशीलता वा स्वतन्त्र संसारप्रतिको चाहनालाई प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ। पोस्टरमा ‘पार्वती’ शीर्षक प्रस्तुत गरिएको शैलीले पात्रले समाजबाट भोग्नुपरेका अवरोध, संघर्ष वा उसमाथि लगाइएका सामाजिक ट्यागहरूविरुद्धको प्रतिरोधलाई प्रतीकात्मक रूपमा देखाएको अनुमान गरिएको छ।

आगामी भदौ १२ गते रक्षाबन्धनको अवसर पारेर प्रदर्शनमा आउने फिल्मको पोस्टरमा दिदी-भाइको सम्बन्ध झल्किने दृश्य प्रस्तुत गरिनु र सोही मिति रोजिनुले कथावस्तु पनि दिदी–भाइबीचको भावनात्मक सम्बन्ध तथा सामाजिक जिम्मेवारी वरिपरि केन्द्रित हुन सक्ने अनुमान गरिएको छ।

फिल्म ‘पार्वती’ नीताका लागि करियरको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ। कथा, पटकथा, निर्देशन तथा मुख्य भूमिका स्वयं नीताले सम्हालेकाले उनले यो फिल्मलाई विशेष प्राथमिकताका साथ अघि बढाएको स्पष्ट देखिन्छ। पोस्टरमार्फत प्रस्तुत भावनात्मक गहिराइलाई फिल्मले पर्दामा प्रभावकारी रूपमा उतार्न सके यसले नीताको करियरमा नयाँ मोड ल्याउन सक्ने चर्चा सुरु भएको छ।

फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ। ‘नीता ढुंगाना फिल्म्स’को ब्यानरमा हरिहर अधिकारीले निर्माण गरेको फिल्ममा संवाद शिवम् अधिकारीको, क्रियटिभ निर्देशन सरोज अधिकारीको रहेको छ।

त्यस्तै, फिल्ममा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, एलिस कार्कीको पाश्र्व संगीत, सुदीप बरालको छायांकन तथा साहिल खानको सम्पादन रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *