गाडी दुर्घटनामा सात जना घाइते
जाजरकोट । जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। छेडागाड नगरपालिका–१३ कार्कीगाउँदेखि नेपालगन्जतर्फ जाँदै गरेको लु.प्र.०१००१ ख.०१९७ नम्बरको फोर्स गाडी बुधबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–८, चौखेढुङ्गा क्षेत्रमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिरकुमार खड्काका अनुसार बिहान करिब ८ बजे दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी जगतीपुरबाट टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई तत्काल एम्बुलेन्समार्फत जिल्ला अस्पताल जाजरकोट पुर्याई उपचार भइरहेको छ। अस्पतालका अनुसार सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ।
गाडीमा चालकसहित ८ जना सवार थिए। चालक २६ वर्षीय खिमराज केसी भने सकुशल रहेका छन् भने अन्य सात जना घाइते भएका छन्। घाइतेहरूमा भेरी नगरपालिका–७ की २७ वर्षीया भावना विक, २६ वर्षीय आशिष विक, २८ वर्षीया तिर्सना विक र २५ वर्षीया लिला विक रहेका छन्।
त्यस्तै भेरी–९ का २२ वर्षीय कमल परियार, २६ वर्षीय कमलराज घर्ती र भेरी–१० का २७ वर्षीय तुल्सा मल्ल शाही पनि घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
