`

जलवायु परिवर्तनले जोखिममा हिमाली क्षेत्र : राष्ट्रपति

Nepal One HD १३ जेठ २०८३ १२:५७
प्रमुख खबर

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित ‘Everest Summitters Breakfast with President of Nepal’ कार्यक्रममा विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीहरूको सम्मान गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। उनले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रिय गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे।

उनका अनुसार यी सम्पदाको संरक्षण, प्रवर्द्धन र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगेको छ। तर पछिल्ला वर्षहरूमा विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा फोहोर व्यवस्थापन जस्ता चुनौतीहरू बढ्दै गएको उनले बताए।

राष्ट्रपति पौडेलले यी समस्या समाधान गर्दै सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता संरक्षण गर्नुपर्नेमा जोड दिए। साथै, पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

उनले आरोहीहरूको अनुभव र ज्ञानले सगरमाथा तथा हिमाली क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै यस प्रकारका सम्मेलनले विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *