ममता बनर्जीविरुद्ध ‘एफआईआर’ दर्ता, खास मुद्दा के ?
काठमाडौं। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जी विरुद्ध भड्काउ अभिव्यक्ति दिएको तथा धार्मिक भावनामा चोट पुर्याएको आरोपमा एफआईआर दर्ता गरिएको छ।
भारतीय जनता पार्टी (भाजपा) नेतृ तथा अधिवक्ता रिन्की चटर्जी सिंह ले सिलीगुडी साइबर अपराध प्रहरी थानामा उजुरी दर्ता गराएकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी अधिकारीहरूले एफआईआर दर्ता भएको पुष्टि गरेका छन्।
उजुरीकर्ताले पत्रकारहरूसँग कुरा गर्दै सुरुमा प्रहरीले उजुरी लिन अस्वीकार गरेको दाबी गरेकी छन्। उनले पटक-पटक प्रयास गरेपछि मात्र उजुरी दर्ता भएको बताइन्।
प्रहरीका अनुसार, उजुरीमा ममता बनर्जीले सन् २०२५ मा आयोजित एक धार्मिक कार्यक्रममा तथा विधानसभा निर्वाचनअघि कोलकाताको धर्मतल्ला क्षेत्रमा भएको र्यालीमा दिएको अभिव्यक्तिले हिन्दू समुदायको भावना आहत भएको उल्लेख गरिएको छ।
उजुरीकर्ताको दाबीअनुसार ममता बनर्जीले एक कार्यक्रममा ‘एउटा खास समुदायले चाहेमा पाँच मिनेटमै अर्को समुदायलाई समाप्त गर्न सक्छ’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।
प्रहरीले ममता बनर्जीविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा ३५१ (१), ३५२ र ३५३ (२) अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ।
धारा ३५१ (१) आपराधिक धम्कीसँग सम्बन्धित छ भने धारा ३५२ शान्ति भंग गर्ने उद्देश्यले जानीजानी अपमान गर्ने कसुरसँग सम्बन्धित रहेको बताइएको छ।
