हिरो ‘पुरुष’ नै चाहिन्छ ?
काठमाडौं। भाष्य र संस्कृतिहरु निर्माण हुन बर्षौ लाग्छ। यसैगरि लामो समय देखि नेपाली चलचित्र उद्योगमा एउटा भाष्य स्थापित हुँदै आएको छ। फिल्म सफल हुन ‘हिरो’ आवश्यक हुन्छ र त्यो हिरो प्रायः पुरुष नै हुनुपर्छ।
यहि स्थापित भाष्यका कारण अधिकांश नेपाली चलचित्रको कथा पुरुष पात्रको वरिपरि घुम्ने गरेको देखिन्छ। भने अभिनेत्रीहरूलाई प्रेम, त्याग वा भावनात्मक भूमिकामा सीमित राख्ने प्रवृत्ति लामो समयदेखि हावी रहँदै आएको छ।
तर पछिल्लो समय यो पुरानो भाष्य विस्तारै बदलिन थालेको छ। अब महिला कलाकारहरू पनि चलचित्रको मुख्य आकर्षण र ‘बक्स अफिस ड्राइभर’ बन्न सक्छन् भन्ने धारणा बलियो बन्दै गएको देखिन्छ। हालै प्रदर्शन भएका केही चलचित्रहरूले यस परिवर्तनलाई स्पष्ट रूपमा संकेत गरेका छन्।
पछिल्लो समय प्रदर्शनमा आएका ‘लाली बजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरु आमा’ जस्ता चलचित्रहरूले महिलालाई सहायक होइन, कथाको केन्द्रमा उभ्याएका छन्। यी चलचित्रमा महिला पात्र केवल कथा सजाउने हिस्सा होइनन्, बरु कथालाई अघि बढाउने मुख्य शक्ति बनेका छन्।
विशेषगरी ‘लाली बजार’ अहिले व्यापक चर्चामा रहेको चलचित्र हो। गत वैशाख २५ देखि प्रदर्शनमा आएको यो फिल्ममा स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको संघर्षशील जीवनलाई प्रस्तुत गरेकी छिन्। छोरीको भविष्य जोगाउन समाजसँग जुध्ने आमाको कथा मार्फत चलचित्रले सामाजिक विभेद र कुप्रथाविरुद्ध सशक्त आवाज उठाएको छ।
अभिनेत्री स्वस्तिमा खड्काले महिला पात्र केन्द्रमा हुनु आफैँमा महत्वपूर्ण परिवर्तन भएको बताएकी छन्। उनका अनुसार नेपाली चलचित्र अझै पनि धेरै हदसम्म पुरुष पात्रलाई केन्द्रमा राखेर लेखिन्छन्, तर अहिले दर्शक फरक कथाहरू स्वीकार गर्न तयार हुँदै गएका छन्। उनले बलियो पटकथा भए पात्रको लिंगभन्दा कथा नै मुख्य हुने धारणा राखेकी छन्।
अर्को चलचित्र ‘एक मुठ्ठी बादल’ले महिलाको व्यक्तिगत स्वतन्त्रता र निर्णय क्षमताको विषय उठाएको छ। यस चलचित्रमा अभिनेत्री आँचल शर्मासहित निशा शर्मा, उषा रजकलगायत कलाकारले अभिनय गरेका छन्। चलचित्रका निर्देशकदेखि प्राविधिक टोलीसम्म महिलाको संलग्नता रहेको यो फिल्मले विशेष चर्चा पाएको छ।
फिल्ममा विवाह गर्ने निर्णय लिएकी एक युवतीले आफ्नो जीवनको निर्णय स्वतन्त्र रूपमा लिन खोज्दा देखिने सामाजिक र पारिवारिक दबाबलाई चित्रण गरिएको छ। हालै प्रदर्शन भएको यस चलचित्रमा आँचल शर्माले ‘माइली’ छोरीको भूमिका निर्वाह गरेकी छिन्।
उनका अनुसार, फिल्मले महिलाको निर्णय क्षमता र आत्मविश्वासलाई उजागर गर्न खोजेको छ। उनले भनेकी छन्, ‘महिलाले आफ्नो जीवनका निर्णय आफैँ गर्न पाउनुपर्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ।’
त्यस्तै,नेपालमा महिला मुख्य पात्र र केन्द्रमा रहेको ‘बोक्सीको घर’ बन्यो। केकी अधिकारी मुख्य भूमिकामा रहेको उक्त फिल्मले समाजमा महिलामाथि हुने हिंसा र अन्धविश्वासलाई उजागर गरेको छ।
त्यस्तै स्वस्तिमाको मुख्य भूमिकामा ‘बुलबुल’ आयो। काठमाडौंमा टेम्पो चलाउने एक महिलाको संघर्ष र आत्मनिर्भरताको यथार्थ कथा प्रस्तुत गर्यो ।
अञ्जिला तुम्बापो सुब्बा स्वयं मुख्य भूमिकामा ‘अञ्जिला’ । शृष्टि श्रेष्ठ मुख्य भूमिकामा ‘गाजलु’ । त्यस्तै ‘उमा’ रीचा शर्मा मुख्य भूमिकामा प्रर्दशनमा आयो। यी सबै चलचित्रहरूले नेपाली सिनेमामा महिलालाई केन्द्रमा राखेर पनि फिल्म बन्छ र चल्छ भन्ने भाष्य निर्माण गर्यो।
एक समय अभिनेत्री रेखा थापाले नेपाली सिनेमामा महिला केन्द्रित ‘एक्शन हिरो’को अवधारणा स्थापित गरेकी थिइन्। तर त्यसपछि लामो समय नेपाली चलचित्र पुनः पुरुष केन्द्रित कथातर्फ फर्किएको देखियो।
तर पछिल्लो केही वर्षयता फेरि परिवर्तनको संकेत देखिन थालेको छ। अब महिला पात्रहरू सहायक मात्र नभई मुख्य पात्रका रूपमा स्थापित हुँदै गएका छन्।
विश्लेषकहरूका अनुसार, अहिले दर्शक ‘हिरो’ हेर्न हल जानेभन्दा पनि बलियो कथा खोज्न थालेका छन्। त्यही कारण महिलाको दृष्टिकोणबाट भनिएका कथाहरूले पनि बजारमा स्थान पाउन थालेका छन्।
नेपाली चलचित्र उद्योगमा महिलालाई केन्द्रमा राखेर बनाइएका फिल्महरूको संख्या र प्रभाव दुवै बढ्दै गएको छ। यसले पुरानो ‘पुरुष हिरो अनिवार्य’ भन्ने सोचलाई चुनौती दिँदै नयाँ सम्भावनाको ढोका खोलिरहेको देखिन्छ।
यदि यही प्रवृत्ति निरन्तर अघि बढ्यो भने नेपाली सिनेमा कथावस्तु र प्रस्तुती दुवै हिसाबले अझ विविध र सन्तुलित दिशातर्फ अघि बढ्ने अपेक्षा गर्न सकिन्छ।
