‘गौँथली’को टिजर सार्वजनिक
काठमाडौं। चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले मुख्य पात्रहरूको कथा र भावनात्मक द्वन्द्वलाई केन्द्रमा राख्दै सिनेमाको मूल कथावस्तु उजागर गरेको छ।
टिजरमा आमाले छोरीको सुखद वैवाहिक जीवनका लागि गर्ने संघर्ष र प्रयासलाई देखाइएको छ। तर सोही छोरीले वैवाहिक जीवनमा भोग्नुपरेको पीडा, असमान व्यवहार र मानसिक तनावलाई समेत मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
पढ्ने चाहना हुँदाहुँदै बाल्यकालमै विवाह गर्न बाध्य भएकी युवतीको जीवन, सोझो र इमान्दार ठानेको श्रीमान्को वास्तविक व्यवहार र त्यसपछि उत्पन्न हुने पारिवारिक तनावलाई टिजरमा प्रभावकारी रूपमा चित्रण गरिएको छ।
जन्म दिने आमा र कर्म दिने सासुबीचको सम्बन्ध तथा बुहारीले भोग्नुपरेको संघर्षले कथा अझ भावनात्मक बनाएको छ।
टिजरले एउटा निर्णय गलत हुँदा जीवन कसरी उल्टिन सक्छ भन्ने गहिरो सन्देश पनि दिएको छ। छोरीका लागि आमाको माया, बुहारीका लागि सासुको कठोरता र वैवाहिक जीवनमा देखिने असन्तुलनले दर्शकलाई भावुक बनाउने संकेत टिजरले दिएको छ।
चलचित्रमा श्रीमान्को भूमिकामा अरुण क्षेत्री र श्रीमतीको भूमिकामा सिम्रन खड्का रहेका छन्। उनीहरूको जीवनमा आउने उतारचढाव र भावनात्मक संघर्ष नै फिल्मको मुख्य आधार भएको देखिन्छ।
निर्देशक डा. कपिल रिजालले निर्देशन गरेको यो चलचित्र साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायतको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले पनि अभिनय गरेका छन्।
चलचित्रको कथा डा. भोला रिजालले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
‘गौँथली’ नामलाई प्रतीकात्मक रूपमा घर, परिवार र आपसी सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। यसअघि यही नाममा करिब दुई दशकअघि डा. भोला रिजालले संगीतप्रधान चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘म्युजिकल फिल्म’ मानिन्छ।
त्यही नामलाई निरन्तरता दिँदै यसपटक डा. कपिल रिजालको निर्देशनमा नयाँ पुस्ताको कथा र आधुनिक पारिवारिक द्वन्द्व समेटेर चलचित्र तयार गरिएको हो।
चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।
संगीतमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको योगदान रहेको छ। पाश्र्व संगीत एलिस कार्कीले तयार पारेका छन्। छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
