इदमा बलि हुनबाट जोगियो ‘डोनाल्ड ट्रम्प’ भैंसी
एजेन्सी। बंगलादेशमा इदको अवसरमा बलि चढाउन तयार पारिएको दुर्लभ सेतो भैंसीलाई अन्तिम समयमा सरकारले जोगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कपालजस्तै सुनौलो रौं भएका कारण सामाजिक सञ्जालमा ‘डोनाल्ड ट्रम्प’ नामले चर्चित बनेको उक्त भैंसीलाई सरकारले उद्धार गरी राष्ट्रिय चिडियाखानामा राखेको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार राजधानी ढाकानजिकैको नारायणगञ्जस्थित एक कृषि फार्ममा पालिएको उक्त भैंसी इदको बलिका लागि बिक्री गरिएको थियो ।
करिब ७०० किलोग्राम तौल रहेको भैंसी ३ लाख ८५ हजार टाकामा बिक्री भएको बताइएको छ । फार्म सञ्चालक जिया उद्दिन मैरादाले भैंसीको मासु प्रतिकिलो ५५० टाकाका दरले मूल्यांकन गरिएको जानकारी दिएका छन् ।
तर सामाजिक सञ्जालमा यसको तस्वीर र भिडियो भाइरल भएपछि परिस्थिति बदलिएको थियो । सेतो–गुलाबी शरीर, ठूलो आकार र टाउकोमा रहेको सुनौलो रौंका कारण मानिसहरूले उक्त भैंसीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गर्न थालेका थिए । त्यसपछि ‘डोनाल्ड ट्रम्प भैंसी’ नामले यो जनावर देशभर चर्चित बन्न पुगेको थियो ।
भैंसी हेर्नका लागि टाढाटाढाबाट मानिसहरू फार्ममा पुग्न थालेपछि सुरक्षा चुनौती समेत बढेको थियो । बालबालिका, परिवार तथा सामाजिक सञ्जालका कन्टेन्ट क्रियटरहरू फोटो र भिडियो खिच्न लाइन लाग्ने अवस्था बनेपछि बंगलादेश सरकारको ध्यान यसतर्फ गएको बताइएको छ ।
त्यसपछि बंगलादेशको गृह मन्त्रालयले उक्त भैंसीलाई बलि दिन नदिने निर्णय गर्दै उद्धारको आदेश दिएको हो ।
गृहमन्त्री सलाहुद्दीन अहमदले सम्बन्धित निकायलाई भैंसी सुरक्षित रूपमा नियन्त्रणमा लिन निर्देशन दिएका थिए । सरकारले भैंसी खरिद गर्ने व्यक्तिलाई तिरेको सम्पूर्ण रकम फिर्ता गरिने पनि जनाएको छ ।
प्रहरी र पशुपालन विभागको संयुक्त टोलीले भैंसीलाई सुरक्षित रूपमा ढाकास्थित राष्ट्रिय चिडियाखानामा पुर्याएको थियो । चिडियाखाना प्रशासनले अहिले उक्त भैंसीका लागि छुट्टै घेरा निर्माण गरी विशेष निगरानीमा राखेको जनाएको छ ।
चिडियाखानाका क्युरेटर अतिकुर रहमानका अनुसार भैंसीलाई सुरुवाती दुई सातासम्म क्वारेन्टाइन तथा स्वास्थ्य निगरानीमा राखिनेछ । त्यसपछि सर्वसाधारणका लागि अवलोकन खुला गरिने योजना रहेको उनले बताएका छन् ।
विशेषज्ञहरूका अनुसार उक्त भैंसी ‘अल्बिनो’ प्रजातिको हो । अल्बिनो जनावरमा मेलानिन नामक रङ उत्पादन गर्ने तत्व अत्यन्त कम वा नभएकाले उनीहरूको शरीर सेतो वा फिक्का गुलाबी देखिन्छ । बंगलादेशमा अधिकांश भैंसी कालो हुने भएकाले यस्तो सेतो भैंसी अत्यन्त दुर्लभ मानिन्छ ।
अल्बिनो जनावरहरू सामान्य जनावरको तुलनामा बढी संवेदनशील हुने विज्ञहरू बताउँछन् । उनीहरूमा घाम, छाला रोग तथा संक्रमणको जोखिम उच्च हुने भएकाले विशेष हेरचाह आवश्यक पर्ने जनाइएको छ ।
फार्म सञ्चालकका अनुसार चार वर्ष उमेरको उक्त भैंसी अझै लामो समय बाँच्न सक्ने अवस्था रहेको छ । यही कारण पनि सरकार र पशु विज्ञहरूले यसलाई संरक्षण गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
इदको बलिका लागि तयार पारिएको एउटा दुर्लभ भैंसी सामाजिक सञ्जालमार्फत राष्ट्रिय चर्चाको विषय बन्नु र अन्ततः सरकारी संरक्षणमा पुग्नु अहिले बंगलादेशमा व्यापक चर्चा र चासोको विषय बनेको छ ।
