`

अमेरिका-इरान तनावमा ‘ब्रेक’ : युद्धविराम ६० दिन थप्ने तयारी

Nepal One HD १५ जेठ २०८३ ११:३१
विश्व

एजेन्सी। अमेरिका र इरानबीच जारी तनाव कम गर्ने प्रयासस्वरूप युद्धविरामलाई थप ६० दिन लम्ब्याउने र होर्मुज जलडमरूमध्यमा जहाज आवतजावत सहज बनाउने विषयमा महत्वपूर्ण सहमति जुटेको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुवै पक्षबीच प्रारम्भिक समझदारी बने पनि त्यसले अझै औपचारिक रूप भने पाएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावित सहमतिमा अन्तिम निर्णय दिएका छैनन् भने इरानी पक्षले पनि वार्ता अझै जारी रहेको जनाएको छ।

वार्तामा संलग्न स्रोतहरूका अनुसार सहमति कार्यान्वयन भए युद्धविराम थप दुई महिना कायम रहनेछ। साथै विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज जलडमरूमध्यमा रोक लगाइएका समुद्री गतिविधि खुला गरिनेछ। यस अवधिमा इरानको आणविक कार्यक्रमसहित अन्य संवेदनशील विषयमा थप कूटनीतिक छलफल अघि बढाइने जनाइएको छ।

विश्लेषकहरूले यसलाई पछिल्ला महिनामा अमेरिका-इरान सम्बन्धमा देखिएको सबैभन्दा सकारात्मक संकेतका रूपमा हेरेका छन्। गत फेब्रुअरी अन्त्यदेखि सुरु भएको द्वन्द्वपछि दुवै देशबीच लगातार तनाव बढ्दै आएको थियो।

युद्धविराम लागू भएपछिसमेत क्षेत्रीय तनाव पूर्ण रूपमा रोकिएको छैन। पछिल्ला दिनमा दुवै पक्षबीच छिटफुट सैन्य गतिविधि भइरहेका बेला नयाँ सहमतिसम्बन्धी खबर बाहिर आएको हो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता निष्कर्षउन्मुख रहेको संकेत दिएका छन्। उनले सञ्चारकर्मीसँग कुरा गर्दै छलफल सकारात्मक चरणमा पुगेको बताए।

सम्भावित सहमतिअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने तथा इरानी तेल निर्यातमा लगाइएका नियन्त्रण पनि आंशिक रूपमा हटाउन सक्ने बताइएको छ।

यस खबरपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको अत्यन्त महत्वपूर्ण मार्ग भएकाले त्यहाँको अवस्था सामान्य बन्ने संकेतले बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ।

यसैबीच अमेरिकी सेनाले इरानका पाँच ड्रोन खसालेको र बन्दर अब्बासस्थित एक नियन्त्रण केन्द्रमा आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षले उक्त केन्द्रबाट थप आक्रमणको तयारी भइरहेको दाबी गरेको छ।

कुवेततर्फ प्रहार गरिएको एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई पनि कुवेती सुरक्षाबलले निष्क्रिय बनाएको जनाइएको छ।

अमेरिकाले आफ्नो विमान खसालिएको भन्ने इरानी दाबी अस्वीकार गरेको छ। अमेरिकी अधिकारीहरूले त्यस्तो कुनै घटना नभएको स्पष्ट पारेका छन्।

पछिल्ला घटनाक्रमले युद्धविराम भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर रहेको संकेत गरेका छन्। तीन महिनादेखि जारी तनावका कारण हजारौँ मानिस प्रभावित भएका छन् भने विश्व ऊर्जा बजारसमेत दबाबमा परेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले बन्दर अब्बासमाथिको आक्रमणपछि अमेरिकालाई चेतावनी दिँदै पुनः हमला भए कडा जवाफ दिइने जनाएको छ।

कुवेतले भने दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

यसैबीच पाकिस्तानले आफ्ना विदेशमन्त्री इशाक डारले वासिङ्टनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गर्ने जनाएको छ। उक्त भेटलाई क्षेत्रीय तनाव कम गर्ने प्रयाससँग जोडेर हेरिएको छ।

इरानले शान्ति प्रक्रियाका लागि आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, विदेशमा रोकिएका सम्पत्ति फुकुवा गर्नुपर्ने र अमेरिकी सेना क्षेत्रबाट हट्नुपर्ने माग राख्दै आएको छ। अमेरिकाले भने इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नुपर्ने अडान दोहोर्‍याएको छ।

त्यसैगरी इरानले इजरायलले लेबनानमा गरिरहेका आक्रमण रोक्नुपर्ने सर्त पनि अघि सारेको छ। तर इजरायल र हिजबुल्लाहबीचको तनाव भने अझै जारी रहेको छ। 

अमेरिकाले ओमानलाई इरानसँग मिलेर होर्मुज जलडमरूमध्यमा नयाँ शुल्क प्रणाली लागू नगर्न चेतावनी दिएको छ। राष्ट्रपति ट्रम्पले ओमानविरुद्ध कडा कदम चाल्न सकिने संकेतसमेत दिएका थिए।

अमेरिकी अधिकारीहरूका अनुसार ओमानले त्यस्तो कुनै योजना नरहेको स्पष्ट पारेको छ। यद्यपि इरानसँग समुद्री आवागमनको विषयमा छलफल भएको भने स्वीकार गरेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *