`

चौथो सातासम्म ‘लालीबजार’

समीन बरुवाल १५ जेठ २०८३ १३:४४
चलचित्र

काठमाडौं। गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा प्रवेश गरेको छ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको यो फिल्म अहिले पनि देशभर उल्लेख्य शो र दर्शक उपस्थिति कायम राख्न सफल देखिएको छ।

निर्माण पक्षका अनुसार हाल फिल्मले देशभर करिब १ सय ६० शो प्राप्त गरिरहेको छ। सुरुवाती दिनमा १ सय ८० शोबाट प्रदर्शन सुरु गरेको फिल्मले समयसँगै शो संख्या केही घटे पनि दर्शकको चासो भने अझै घटेको छैन।

विशेषगरी चौथो सातामा प्रवेश गरेसँगै फिल्मप्रतिको ‘वर्ड अफ माउथ’ अझ बलियो बनेको देखिन्छ।

फिल्मका अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकको व्यवहारमा आएको परिवर्तन उल्लेख गरेका छन्। उनका अनुसार सुरुवाती समयमा कानुनी विवादका कारण फिल्मलाई लिएर दर्शकमा केही अन्योल रहेको थियो।

धेरै दर्शक एक्लै हलमा पुगेका थिए। तर अहिले परिस्थिति फेरिएको छ र दर्शक परिवारसहित फिल्म हेर्न आउने क्रम उल्लेख्य रूपमा बढेको छ।

उनले विभिन्न हल भिजिटका क्रममा ठूलो संख्यामा परिवार भेटिएको उल्लेख गर्दै भक्तपुरमा मात्रै १८ जना र १७ जनाको समूहमा आएका दर्शकसँग भेट भएको बताए।

उनका अनुसार अहिले फिल्मप्रति तीन पुस्तासम्मको दर्शक आकर्षित भएका छन्, जसमा हजुरबुवादेखि नातिनातिनासम्म हलमा सँगै बसेर फिल्म हेर्ने दृश्य देखिन थालेको छ।

निर्माण टिमका अनुसार फिल्मले काठमाडौं उपत्यका र मोफसल दुवै क्षेत्रमा समान रूपमा राम्रो व्यापार गरिरहेको छ।

चौथो साताको सप्ताहन्तका लागि मात्र करिब १ सय ४० शो उपलब्ध छन् र तीमध्ये धेरै शोहरू हाउसफुल हुने अवस्था देखिएको छ। दर्शकको सकारात्मक प्रतिक्रिया र निरन्तर समर्थनले फिल्मको व्यापारलाई स्थायित्व दिएको निर्माण पक्षको भनाइ छ।

फिल्मको कथा आमा र छोरीबीचको सम्बन्धमा केन्द्रित रहेको छ। विशेषगरी शिक्षाको महत्व, सामाजिक संघर्ष र पारिवारिक भावनालाई फिल्मले गहिरो रूपमा प्रस्तुत गरेको छ।

यही कारण दर्शकले फिल्म हेरेपछि भावुक प्रतिक्रिया दिने गरेको निर्माण पक्ष बताउँछ। धेरै दर्शकले फिल्म हेरेपछि आफ्नै जीवनसँग कथा जोडिएको अनुभव गरेको, आँखा रसाएको र भावनात्मक रूपमा प्रभावित भएको बताएका छन्।

निर्देशक यम थापाका अनुसार फिल्मको मूल उद्देश्य सामाजिक सन्देशसँगै पारिवारिक मूल्यलाई उजागर गर्नु हो। उनले फिल्मले दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सफल भएको दाबी गरेका छन्। निर्माण पक्षका अनुसार सकारात्मक ‘वर्ड अफ माउथ’ नै फिल्मको दीर्घ सफलताको प्रमुख आधार बनेको छ।

व्यापारिक दृष्टिले पनि फिल्म सफलतापूर्वक अघि बढिरहेको दाबी निर्माण पक्षले गरेको छ। हालसम्मको प्रदर्शनलाई आधार मान्दा फिल्मले १० करोड रुपैयाँको व्यापार आँकडा पार गर्ने अपेक्षा गरिएको छ।

दर्शकको निरन्तर चासो र हलमा बढ्दो उपस्थिति हेर्दा आगामी दिनमा पनि फिल्मको प्रदर्शन स्थिर रहने अनुमान गरिएको छ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत लगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन्।

निर्माण टिमका अनुसार विशाल देवकोटा लामो समयदेखि थिएटरमा सक्रिय कलाकार हुन् भने प्रशंसा सुवेदी जेनजी पुस्ताकी चर्चित अनुहारका रूपमा परिचित छिन्।

फिल्मको कथा, पटकथा र संवाद यम थापा तथा निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्।

निर्माण पक्षले दर्शकको साथलाई नै फिल्मको वास्तविक सफलता मान्दै आगामी दिनमा पनि यस्तै सकारात्मक प्रतिक्रिया पाइरहने अपेक्षा व्यक्त गरेको छ।

चौथो सातासम्म निरन्तर दर्शकको आकर्षण कायम रहनु नेपाली फिल्म उद्योगका लागि पनि सकारात्मक संकेत भएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *