`

प्रहरी परिसरबाट तिरे पुजा र सुदर्शनले प्राविधिकको १२ लाख

Nepal One HD १५ जेठ २०८३ १५:५१
चलचित्र

काठमाडौं। अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘रावायण’का प्राविधिकलाई तिर्न बाँकी रहेको १२ लाख रुपैयाँ अन्ततः काठमाडौं जिल्ला प्रहरी परिसरमै पुगेर भुक्तानी गरेका छन्।

लामो समयदेखि प्राविधिकको पारिश्रमिक नदिएको आरोपपछि नेपाल चलचित्र प्राविधिक संघले चलचित्रका निर्माता तथा निर्देशकविरुद्ध उजुरी दर्ता गरेको थियो।

सोही उजुरीका आधारमा मंगलबार प्रहरी परिसरमा बयानका लागि उपस्थित गराइएका पूजा शर्मा र सुदर्शन थापाले रकम बुझाएका हुन्।

प्राप्त जानकारीअनुसार अभिनेत्री पूजा शर्माले ८ लाख रुपैयाँ र निर्देशक सुदर्शन थापाले ४ लाख रुपैयाँ गरी कुल १२ लाख रुपैयाँ प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई प्रहरी परिसरमै हस्तान्तरण गरेका थिए। उक्त रकम पछि सम्बन्धित प्राविधिकलाई वितरण गरिएको संघले जनाएको छ।

नेपाल चलचित्र प्राविधिक संघका अनुसार चलचित्र ‘रावायण’मा काम गरेका प्राविधिकहरूले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै संघमार्फत सहयोगको माग गरेका थिए।

संघले यसअघि नै निर्मातालाई तोकिएको मितिभित्र भुक्तानी गर्न आग्रह गर्दै पत्राचारसमेत गरेको थियो। तर समयमै रकम नबुझाइएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।

प्राविधिक संघका अनुसार यस घटनापछि प्राविधिकहरूको भुक्तानी सुनिश्चित गर्न थप कडाइ सुरु गरिएको छ। संघले हाल करिब १७ वटा चलचित्रसँग प्राविधिक पारिश्रमिक बाँकी रहेको सूची तयार पारेको जनाएको छ।

संघका अध्यक्ष पुष्कर लामाका अनुसार ‘रावायण’सँगै ‘बलिदान’ र ‘के घर के डेरा-२’ जस्ता चलचित्रका निर्मातासँग पनि रकम बाँकी रहेको विषयमा छलफल भइरहेको छ।

केही निर्माता भने सम्पर्कमा आएर केही दिनभित्र भुक्तानी गर्ने प्रतिबद्धता जनाइसकेको बताइएको छ।

संघले समयमै भुक्तानी नगर्ने निर्मातालाई कालोसूचीमा राख्ने र भविष्यका परियोजनामा प्राविधिकहरूले काम नगर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *