गोली हानी सिक्री लुटेरा पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हुलहुज्जतसहित कारागारबाट निस्किएपछि केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । पक्राउ पर्ने गणेश कार्की छन् । उनी घाइते भएका छन् ।
शनिबार दिउँसो सुकेधारामा कार्की र उनका एक सहयोगीले एक महिलाको आँखामा खुर्सानीको धुलो छर्केर सुनको सिक्री लुटेका थिए।
घटनापछि फरार भएका उनीहरूको खोजीका क्रममा प्रहरी टोली जडीबुटी पुगेको थियो। त्यही क्रममा कार्कीसँग जम्काभेट भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ।
रास्वपा सभापति लामिछाने उनका समर्थक र पार्टीका नेता कार्यकर्ताले गत वर्षको २४ भदौमा हुलहुज्जत गर्दै निकालिएको केही बेरमै देशभरबाट १४ हजार बढी कैदीबन्दी फरार भएका थिए । त्यसमध्येका एक जना कार्की थिए ।
उनी डाँकाचोरी मुद्दामा कैद भुक्तान गर्दै थिए । फरार भएपछि पनि उनी आपराधिक क्रियाकलापमै संलग्न थिए । पछिल्लोपटक शनिबार महिलाको आँखामा खुर्सानीको धुलो हालेर सुनको सिक्री लुटेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै कार्कीलाई नियन्त्रणमा लिन खोज्दा मुठभेड भएको र त्यस क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ। कार्कीको बायाँ खुट्टामा गोली लागेको छ भने उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पक्राउ अभियानका क्रममा प्रतिरोध भएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।
उक्त घटनामा एक जना प्रहरी कर्मचारी पनि घाइते भएका छन्। घाइते प्रहरीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
लुटपाटमा संलग्न अर्का आरोपी विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
प्रहरी अधिकृतहरूका अनुसार केही समयअघि कपन क्षेत्रमा समेत उनले प्रहरीमाथि खुर्सानीको धुलो छर्केर भाग्न सफल भएका थिए।
पछिल्लो पटक भने सुकेधाराको लुटपाट घटनापछि प्रहरीको खोजीमा परेका उनी जडीबुटीमा पक्राउ परेका हुन्।
प्रहरीले कार्कीको आपराधिक सञ्जाल, फरार अवधिमा भएका गतिविधि र अन्य सम्भावित घटनामा संलग्नताबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
0000
