`

विश्व सुर्तीजन्य पदार्थरहित दिवस : बालबालिका र युवापुस्ता जोखिममा

Nepal One HD १७ जेठ २०८३ ११:३४
जीवनशैली/स्वास्थ्य

काठमाडौं। आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। 

हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको मुख्य उद्देश्य सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका रणनीति, नियन्त्रणका प्रयास तथा भावी पुस्ताको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा बढ्दो सुर्तीजन्य पदार्थको प्रयोग र त्यसबाट हुने रोक्न सकिने मृत्यु तथा रोगप्रति ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवसको सुरुआत गरेका थिए।

प्रारम्भमा ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाइएको यो अभियान सन् १९८८ देखि हरेक वर्ष मे ३१ मा ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का रूपमा मनाउन थालिएको हो।

डब्लुएचओका अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशका नागरिक रहेका छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग दर केही घटे पनि अझै विश्वका प्रत्येक पाँच वयस्कमध्ये एक जना कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवनमा संलग्न छन्।

सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभर ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। त्यसमध्ये करिब १२ लाख मानिसको मृत्यु आफैं धूमपान नगरे पनि निष्क्रिय धूमपानको असरका कारण हुने गरेको डब्लुएचओले जनाएको छ।

यस वर्षको दिवसमा डब्लुएचओले विशेष रूपमा नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विश्वभरका सरकारलाई आग्रह गरेको छ। सङ्गठनका अनुसार १३ देखि १५ वर्ष उमेर समूहका करिब ८ करोड ८४ लाख बालबालिका र किशोरकिशोरीले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। साथै ई–सिगरेट, भेप तथा निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ तीव्र रूपमा बढिरहेको छ।

डब्लुएचओका अनुसार सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनलाई अझ आकर्षक, स्वादयुक्त र प्रयोग गर्न सजिलो बनाउँदै युवापुस्तालाई लक्षित गरिरहेका छन्। विशेषगरी विभिन्न स्वादमा उपलब्ध ई-सिगरेट, भेप तथा निकोटिन पाउचमार्फत किशोर तथा युवालाई निकोटिनको लतमा फसाउने प्रयास भइरहेको छ।

डब्लुएचओको स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले लाखौं मानिसको मृत्यु भइरहे पनि सुर्ती उद्योगले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई लक्षित गरिरहेको बताएका छन्।

उनले भने, ‘स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच र अन्य निकोटिनजन्य उत्पादनको आक्रामक बजार विस्तारले युवापुस्तालाई लक्षित गरिरहेको छ।’

डब्लुएचओले निकोटिन अत्यन्त लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर र युवाहरूका लागि यसको असर अझ गम्भीर हुन सक्ने चेतावनी दिएको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गरिरहेको अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।

हालै सार्वजनिक गरिएको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यस्ता उत्पादनको व्यापक प्रचार भइरहेको उल्लेख गरिएको छ। आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद र आधुनिक जीवनशैलीसँग जोडिएका विज्ञापनमार्फत युवालाई लक्षित गरिएको प्रतिवेदनमा जनाइएको छ।

डब्लुएचओका अनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियामकीय व्यवस्था छैन। पर्याप्त नियमनको अभावमा यसको बिक्री तीव्र रूपमा बढिरहेको र लाखौं मानिस स्वास्थ्य जोखिममा पर्ने सम्भावना रहेको चेतावनी दिइएको छ।

डब्लुएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन रोक्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।

सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै डब्लुएचओले स्वस्थ, सुरक्षित र सुर्तीमुक्त समाज निर्माणका लागि सरकार, समुदाय, अभिभावक र सरोकारवाला सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *