आखिर किन पक्राउ परिन् टिकटकर तुलसी अधिकारी ?
काठमाडौं। थाइल्याण्डबाट पक्राउ परेर नेपाल ल्याइएकी चर्चित टिकटकर तुलसी अधिकारीलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराइँदैछ।
उनीविरुद्ध दर्ता भएका ठगी, आपराधिक लाभ (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अब कानुनी प्रक्रिया अगाडि बढ्ने भएको छ।
ललितपुर प्रहरीले दिएको जानकारीअनुसार सातदोबाटोस्थित एक अटोमोबाइल व्यवसायीले दिएको जाहेरीका आधारमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी मुद्दा दर्ता गरिएको थियो। जाहेरी दर्ता भएपछि उनी नेपालबाट फरार भएकी थिइन्।
प्रहरी अनुसन्धानका क्रममा उनी सुरुमा चीनमा रहेको सूचना प्राप्त भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। त्यसपछि चीनबाट थाइल्याण्ड पुगेकी अधिकारीलाई अन्तर्राष्ट्रिय समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार अधिकारी र जाहेरीकर्ता व्यवसायीबीच लामो समयदेखि व्यक्तिगत निकटता रहेको देखिएको छ। सम्बन्ध बिग्रिएपछि विभिन्न किसिमका दबाब र धम्कीमार्फत रकम तथा गरगहना लिएको आरोप अनुसन्धानको केन्द्रमा रहेको छ। यही आधारमा ठगी र आपराधिक लाभसम्बन्धी मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा अधिकारीको बैंकिङ कारोबार असामान्य रूपमा ठूलो देखिएको बताइएको छ। प्रहरी स्रोतका अनुसार उनको नाममा २० करोड रुपैयाँभन्दा बढीको वित्तीय कारोबार फेला परेको छ। भने फरार अवस्थामा समेत विभिन्न बैंक खातामा ठूलो रकम मौज्दात रहेको भेटिएको थियो।
प्रारम्भिक अनुसन्धानले उनको कुल सम्पत्तिको आकार १६ देखि १७ करोड रुपैयाँको हाराहारीमा रहेको संकेत गरेको छ।
प्रहरीले सम्पत्ति आर्जनको स्रोत, बैंकिङ कारोबार, सम्पत्ति खरिद प्रक्रिया तथा आर्थिक गतिविधिबारे विस्तृत अनुसन्धान गरिरहेको छ। यही कारण उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दर्ता गरिएको हो।
यस प्रकरणमा अधिकारीले फरार रहेकै समयमा सामाजिक सञ्जालमार्फत विभिन्न अभिव्यक्ति दिँदै प्रहरी अधिकारीमाथि समेत आरोप लगाएकी थिइन्। तर अनुसन्धानका क्रममा ती आरोप पुष्टि हुन नसकेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार सम्बन्धित प्रहरी अधिकारीले विगतमा गरगहना खरिद गर्दा भुक्तानी गरेको विवरणसमेत अनुसन्धानबाट देखिएको छ।
तुलसी अधिकारी सामाजिक सञ्जालमा सक्रिय टिकटकरका रूपमा परिचित छिन्। वैवाहिक सम्बन्धमा समस्या आएपछि उनी व्यवसायमा संलग्न भएकी थिइन्।
त्यसक्रममा उनी विभिन्न व्यवसायिक तथा व्यक्तिगत सम्बन्धका कारण चर्चामा आएकी थिइन्।
के हुन्छ कानुनी उपचार ?
अधिकारीविरुद्ध दर्ता भएका तीनमध्ये सबैभन्दा गम्भीर मुद्दा सम्पत्ति शुद्धीकरणको मानिन्छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार यस्तो मुद्दामा लामो अवधिसम्म अनुसन्धान गर्न सकिने व्यवस्था छ।
यदि अवैध रूपमा आर्जन गरिएको सम्पत्ति प्रमाणित भएमा बिगोको दोब्बरसम्म जरिवाना तथा कसुरको गम्भीरताअनुसार २ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्छ। मुद्दाको प्रकृति र अदालतमा प्रस्तुत हुने प्रमाणका आधारमा सजाय निर्धारण हुने कानुनी व्यवस्था छ।
यस्तै ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा पनि कैद र जरिवानाको व्यवस्था रहेको छ। कसुरको प्रकृति, रकमको परिमाण र पीडितको क्षतिको आधारमा सजायको दायरा बढ्न सक्ने कानुनी प्रावधान छ।
सोमबार अदालतमा पेश गरिएपछि अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा अदालतबाट प्रारम्भिक आदेश जारी हुने अपेक्षा गरिएको छ। यस प्रकरणलाई पछिल्लो समय सामाजिक सञ्जाल, आर्थिक कारोबार र आपराधिक अनुसन्धानसँग जोडिएको चर्चित मुद्दाका रूपमा हेरिएको छ।
