रतुवा खोलाको पुलमुनि बोरामा शव फेला, ट्याटुले खुलायो पहिचान
काठमाडौं। झापाको गौरादह नगरपालिका र दमक नगरपालिकाको सीमास्थित रतुवा खोलाको पुलमुनि केही दिनअघि बोराभित्र प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक दमक नगरपालिका-८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेकी छन्।
शवको पहिचान खुलाउन प्रहरीले मृतकको बाँया हातमा रहेको ट्याटुको तस्बिरसहित विवरण सार्वजनिक गर्दै सर्वसाधारणसँग सहयोगको अपिल गरेको थियो।
प्रहरीले जनाएको अनुसार सार्वजनिक सूचनापछि सम्पर्कमा आएका मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले जेठ १७ गते ट्याटु तथा अन्य शारीरिक चिन्हका आधारमा शवको सनाखत गरेका हुन्।
प्रारम्भिक जानकारीअनुसार रमा जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी परिवारको सम्पर्कमा आएकी थिइनन्। परिवारले खोजी गरिरहेको अवस्थामा बिहीबार रतुवा खोलाको पुलमुनि बोराभित्र उनको शव फेला परेको थियो।
घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। मृत्युको वास्तविक कारण, घटनाअघि भएका गतिविधि तथा अन्य व्यक्तिको संलग्नता भए-नभएको विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनासम्बन्धी सबै पक्षको अध्ययन गर्दै सत्यतथ्य पत्ता लगाउने कामलाई तीव्र बनाइएको जनाएको छ। घटनापछि दमक र आसपासका क्षेत्रमा चासो तथा चिन्ता बढेको छ।
