`

सांसदहरु झम्टिएपछि बढाइयो सांसद र सभामुखबीचको दूरी [तस्वीरहरू]

Nepal One HD १८ जेठ २०८३ १५:२८
फोटोफिचर

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको भूमी मिचेको छ भनेपछि नै आक्रोशित भएर बसेको प्रतिपक्षी दल आइतवार  बेलुकासम्म सभामुखसँग झम्टिन पुग्यो।

कार्यसूची अनुसारको नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि छलफलका क्रममा सत्ता र प्रतिपक्षी सांसदबीच धकेलाधकेल भयो।

सभामुख डोलप्रसाद अर्यालले संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेपछि विपक्षी सांसदहरूले विरोध जनाउँदै बैठकको वातावरण तनावपूर्ण बनेको हो।

सभामुख अर्यालले कार्यसूचीअनुसार संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध जनाउँदै ‘वेल’ घेराउमा उत्रिए।

विपक्षी सांसदहरूले नियमावलीको मस्यौदालाई समितिमै थप छलफल गरेर मात्रै सदनमा ल्याउनुपर्ने माग गर्दै तत्काल निर्णय प्रक्रियामा लैजान नहुने अडान राखेका थिए।

तर सभामुखले कार्यसूचीअनुसार अघि बढ्ने संकेत गरेपछि विपक्षीको अवरोध चर्किएको थियो। सोही क्रममा सत्ता पक्षका सांसदहरू पनि आसनबाट उठेर ‘वेल’ क्षेत्रमा पुगेपछि दुवै पक्षका सांसदबीच धकेलाधकेल र सामान्य घम्साघम्सीको स्थिति सिर्जना भएको थियो।

अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए। केही समयपछि बैठक पुनः सुरु भए पनि मर्यादापालक सुरक्षाकर्मीले सभामुखलाई घेरेर सुरक्षासहित बैठक सञ्चालन गरिएको थियो।

त्यसअघि नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको थियो।

बैठकमा सभामुखले मस्यौदामाथि ३५ वटा संशोधन सूचना प्राप्त भएको जानकारी समेत दिएका थिए।

उक्त तनावपूर्ण वातावरणमै सभामुखले सभा अन्त्य गरेका थिए। सोही घटना नदोहोरियोस् भन्ने हेतुले सोमवार सभामुख र सांसदहरुको दूरी बढाइएको छ।
तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *