हर्मुज जलमार्ग बन्द गर्ने इरानको निर्णय, के होला अब ?
इरानले जारी गरेको विज्ञप्तिमा लेबनानमा युद्धविराम कायम गर्नु अमेरिकासँगको समझदारीको प्रमुख सर्त रहेको उल्लेख गर्दै हाल विभिन्न मोर्चामा युद्धविराम उल्लङ्घन भइरहेको आरोप लगाएको छ। साथै, इरान र उसका सहयोगीहरूले आवश्यक परे ‘स्ट्रेट अफ हर्मुज’ लगायतका सामरिक जलमार्गहरूमा दबाब बढाउने चेतावनी पनि दिएका छन्।
इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले कुनै एक क्षेत्रमा भएको युद्धविराम उल्लङ्घनलाई सम्पूर्ण समझदारीको उल्लङ्घनका रूपमा लिनुपर्ने बताएका छन्। संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले पनि अमेरिकाको नीति र लेबनानमा इजरायली कारबाहीलाई युद्धविरामविपरीतको कदम भएको बताएका छन्।
विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले अमेरिकाबाट आएका नयाँ तथा परस्पर विरोधी मागका कारण शान्ति वार्ता अवरुद्ध भएको दाबी गरेका छन्।
इरान र अमेरिकाबीच ४० दिन लामो तनावपछि अप्रिल ८ मा युद्धविराम भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामावादमा शान्ति वार्ताको एक चरण सम्पन्न भए पनि ठोस सहमति हुन सकेको थिएन। पछिल्ला हप्ताहरूमा दुवै पक्षले पाकिस्तानको मध्यस्थतामा विभिन्न प्रस्ताव आदानप्रदान गर्दै युद्ध अन्त्यका लागि समझदारीको खाका तयार गरिरहेका थिए।
यता, इजरायल र लेबनानबीच अप्रिल मध्यमा युद्धविराम भए पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको र हेजबुल्लाहले पनि इजरायली सैन्य लक्ष्यहरूमा जवाफी कारबाही गरिरहेको बताइएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हेजबुल्लाहबीच तनाव कम गर्ने सहमति भएको दाबी गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको कुराकानी सकारात्मक भएको उल्लेख गर्दै बेरुततर्फ कुनै नयाँ सैन्य अभियान अघि नबढ्ने बताएका छन्। ट्रम्पले भने इरानले वार्ता स्थगित गरेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।
