श्रीलंकामा ह्वात्तै बढ्यो डिजेल-पेट्रोलको मूल्य
एजेन्सी । श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य करिब ६ प्रतिशतसम्म बढाएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को आर्थिक सुधार कार्यक्रमअनुसार इन्धनको वास्तविक लागतका आधारमा मूल्य समायोजन गर्ने तथा सरकारी अनुदान क्रमशः हटाउने नीतिअन्तर्गत यो निर्णय गरिएको हो।
राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४१० रुपैयाँबाट बढाएर ४३४ रुपैयाँ र डिजेलको मूल्य ३९२ रुपैयाँबाट बढाएर ४०७ रुपैयाँ कायम गरिएको छ।
यो मूल्यवृद्धि आईएमएफले श्रीलंकालाई उपलब्ध गराउँदै आएको २.९ अर्ब अमेरिकी डलरको सहायता कार्यक्रमअन्तर्गत ६९.५ करोड डलर बराबरको अर्को किस्ता स्वीकृत गरेको केही दिनपछि गरिएको हो। सन् २०२३ मा सुरु भएको उक्त कार्यक्रमको उद्देश्य आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्नु रहेको छ।
आईएमएफले श्रीलंकालाई इन्धन र विद्युत् क्षेत्रमा लागतअनुसार मूल्य निर्धारण गर्न तथा सरकारी अनुदान घटाउन निरन्तर आग्रह गर्दै आएको छ। सोहीअनुसार सरकारले ऊर्जा क्षेत्रमा दिइँदै आएको अनुदान हटाउने प्रक्रिया तीव्र बनाएको जनाएको छ।
राष्ट्रपति अनुरा कुमार दिसानायके ले आईएमएफलाई पठाएको पत्रमा आगामी सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
विश्लेषकहरूका अनुसार फेब्रुअरी अन्त्ययता पश्चिम एसियामा बढेको तनावका कारण विश्व ऊर्जा बजार प्रभावित भएको छ। यसको असर आयातित इन्धनमा निर्भर श्रीलंकाको अर्थतन्त्रमा पनि परेको छ, जसले इन्धन मूल्यमा थप दबाब सिर्जना गरेको बताइएको छ।
