कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो संसद
काठमाडौं । प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। आज बसेको बैठक विपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न नसकेको हो।
बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालैको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका थिए।
प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। सो भनाइलाई लिएर राजनीतिक दलहरूबीच तीव्र बहस र विवाद सिर्जना भएको छ। विपक्षी दलहरूले उक्त अभिव्यक्ति अस्वीकार्य र असंवेदनशील भएको दाबी गर्दै तत्काल स्पष्टीकरण र माफीको माग गरेका छन्।
अवरोधका कारण सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन र अन्ततः बैठक स्थगित गरिएको सभामुखले जानकारी दिएका छन्। यससँगै संसदको अर्को बैठक आगामी २५ गते बस्ने तय भएको छ।
सरकार र विपक्षीबीच उत्पन्न विवादका कारण संसदमा चर्को राजनीतिक तनाव देखिएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवाद र कूटनीतिक संवेदनशीलतासम्बन्धी विषयमा नयाँ बहस सुरु गरेको छ।
