सभापति लामिछाने र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका विदेशमन्त्री एस जयशंकर बीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका लामिछानेले जयशंकरसँग शिष्टाचार भेट गर्दै नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल गरेका हुन्।
भेटबारे जानकारी दिँदै जयशंकरले सामाजिक सञ्जालमार्फत विकास साझेदारी र दुई देशका नागरिकबीचको सम्बन्धबारे अर्थपूर्ण संवाद भएको बताएका छन्। उनले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।
जयशंकरले लेखेका छन्, ‘आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो। हाम्रो छलफल विकास साझेदारी र जनता–जनताबीचको सम्बन्धमा केन्द्रित थियो। यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याउँछन्।’
रास्वपा सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
