रमा हत्या काण्डको दुई साता : के गर्दै छ प्रहरी ?
काठमाडौं। दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अझै निष्कर्षमा पुग्न सकेको छैन।
घटनाको अनुसन्धान सुरु भएको करिब दुई साता बितिसक्दा पनि ठोस नतिजा नआएपछि अनुसन्धान प्रक्रिया अल्मलिएको हो।
गत जेठ १६ गते शनिबार रतुवा खोलामा बोराभित्र प्याक गरिएको अवस्थामा उनको शव फेला परेको थियो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। शव भेटिएको स्थान दमकको सेतुमाडी क्षेत्रस्थित रतुवा खोलाको पुलमुनि रहेको थियो, जहाँ सेतो प्लास्टिकको बोराभित्र शव फालिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार रमा गत बुधबार राति घरबाट निस्किएकी थिइन्। परिवारका सदस्यहरूले उनलाई साथी भेट्न गएको बताएका छन्। सोही दिन भेट्न बोलाउने साथी सुधार केन्द्रबाट छुटेको व्यक्ति रहेको खुलेको छ। ती युवकमाथि सोधपुछ गरिएको भए पनि हालसम्म उनको संलग्नता पुष्टि हुने आधार फेला परेको छैन।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार शव भेटिएको स्थान नै हत्या भएको स्थान होइन। प्रारम्भिक अनुसन्धानले घटनास्थललाई ‘सेकेन्डरी लोकेसन’ मात्र भएको देखाएको छ। र वास्तविक हत्या भएको स्थान (प्राइमरी लोकेसन) पत्ता लाग्न बाँकी छ।
प्रहरीका अनुसार मृतकको मोबाइलको अन्तिम लोकेसन दमक बजार क्षेत्रमा देखिएको छ। राति करिब ११ बजेतिर मोबाइल बन्द भएको र त्यसपछि उनको गतिविधिबारे स्पष्ट जानकारी नभएको अनुसन्धानले देखाएको छ।
घटनाको प्रकृति हेर्दा एक जना व्यक्तिको मात्रै संलग्नता नदेखिएको प्रारम्भिक अनुमान प्रहरीको छ। तर हालसम्म कसैलाई पक्राउ गर्ने अवस्था नआएको इन्स्पेक्टर बानियाँले बताएका छन्।
प्रहरी स्रोतका अनुसार घटनास्थल, मोबाइल डाटा र अन्य प्रमाणका आधारमा घटनाको शृंखला पत्ता लगाउने प्रयास जारी छ। शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गरिएको भए पनि ठोस निष्कर्षमा पुग्न बाँकी छ।
यसैबीच, अनुसन्धान चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न माध्यममा अपुष्ट जानकारी तथा भिडियो सामग्री सार्वजनिक भएकोप्रति प्रहरीले असन्तुष्टि जनाएको छ। यस्ता सामग्रीले अनुसन्धानमा असर पार्ने भन्दै प्रहरीले आधिकारिक पुष्टि नभएका विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार संवेदनशील अनुसन्धानका क्रममा बाहिरिने अपुष्ट सूचना र अनुमानका कारण न्यायिक प्रक्रिया प्रभावित हुन सक्ने जोखिम रहने भएकाले संयम अपनाउन आवश्यक छ।
