`

यस्तो छ नेपाली समयको फिफा विश्वकप २०२६ को खेल तालिका

Nepal One HD २२ जेठ २०८३ १७:०९
खेलकुद

काठमाडौं। फिफा विश्वकप-२०२६ को समूह चरणको खेल तालिका सार्वजनिक भएको छ। ४८ टोली सहभागी यस विश्वकपमा १२ समूहमा विभाजित टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाली समयअनुसार प्रतियोगिताको उद्घाटन खेल जेठ २९ गते राति १२:४५ बजे आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। सोही दिन दक्षिण कोरिया र चेक रिपब्लिकबीचको खेल राति ७:४५ बजे खेलाइनेछ।

पाँच पटकको विश्वकप विजेता ब्राजिलले आफ्नो पहिलो खेल जेठ ३१ गते मोरक्कोसँग खेल्नेछ। साविक विश्वविजेता अर्जेन्टिनाले असार ३ गते अल्जेरियाविरुद्ध मैदान उत्रिने तालिका छ। यस्तै फ्रान्स, जर्मनी, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र बेल्जियमजस्ता बलिया टोलीहरू पनि समूह चरणबाटै उपाधि यात्राको सुरुआत गर्नेछन्।

समूह चरणका खेलहरू जेठ २९ गतेदेखि असार १४ गतेसम्म सञ्चालन हुनेछन्। प्रतियोगितामा समूह ‘ए’ देखि ‘एल’ सम्मका १२ समूहमा रहेका टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

विश्वकपको नकआउट चरण असार १५ गतेदेखि सुरु हुनेछ। राउण्ड अफ ३२ का खेलहरू असार १५ देखि २० गतेसम्म, राउण्ड अफ १६ का खेलहरू असार २० देखि २४ गतेसम्म तथा क्वार्टरफाइनलका खेलहरू असार २६ देखि २८ गतेसम्म खेलाइनेछन्।

त्यसैगरी सेमिफाइनल खेलहरू असार ३१ र ३२ गते आयोजना हुनेछन्। तेस्रो स्थानका लागि हुने खेल साउन ३ गते हुनेछ भने विश्वविजेताको टुंगो लगाउने फाइनल खेल साउन ४ गते नेपाली समयअनुसार मध्यरात १२:४५ बजे खेलाइनेछ।

यसपटकको विश्वकपमा विश्व फुटबलका परम्परागत शक्तिशाली राष्ट्रहरूसँगै नयाँ र उदीयमान टोलीहरूको पनि सहभागिता रहेकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। फुटबल समर्थकहरू विश्वकपको रोमाञ्चक यात्रा सुरु हुन केही दिन मात्र बाँकी रहँदा उत्साहित देखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *