`

स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने

Nepal One HD २२ जेठ २०८३ १९:१६
अर्थ समाचार

काठमाडौँ । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न सङ्घ र प्रदेश सरकारबिच समन्वयात्मक पहल अघि बढाइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजनमा मङ्गलबार आयोजित प्रदेश सरकारका पर्यटन क्षेत्र हेर्ने सचिवहरूको बैठकले स्थलमार्गबाट नेपाल आउने पर्यटकको गतिविधि व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णय गरेको हो ।

बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पर्यटन क्षेत्र हेर्ने सचिवहरू सहभागी रहेका थिए । बैठकले विशेषगरी ‘स्लिपर बस’ प्रयोग गरी तीर्थयात्राका लागि नेपाल आउने पर्यटकहरूले स्थानीय समुदायसँग विभिन्न कारणले द्वन्द्व सिर्जना गरिरहेको निष्कर्ष निकालेको छ ।

पर्यटकहरूले आफैं खाना पकाउने, खाने, लुगा धुने तथा शौच गर्ने जस्ता गतिविधि सञ्चालन गर्दा कतिपय स्थानमा स्थानीयसँग असमझदारी र गुनासो बढेको विषयमा बैठकमा छलफल भएको छ ।

यसलाई व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरी तीर्थयात्रीका लागि विश्राम, खाना पकाउने तथा सरसफाइका सुविधा उपलब्ध हुने निश्चित स्थान तोक्ने र आवश्यक सेवा शुल्कसहितको व्यवस्थापन मोडेल विकास गर्न प्रदेश सरकारहरूलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

जीप, मोटरसाइकल तथा निजी सवारीसाधन प्रयोग गरी नेपाल भ्रमण गर्ने पर्यटकलाई ट्राफिक नियम, सवारीको गति, पार्किङ तथा फोहर व्यवस्थापनसम्बन्धी जानकारी प्रभावकारी रूपमा उपलब्ध गराउने निर्णय भएको छ । पर्यटक सूचना केन्द्र, वेबसाइट तथा ब्रोसरमार्फत सचेतना बढाउने तथा तीव्र गति, जथाभावी पार्किङ र फोहर व्यवस्थापनका कमजोरीका कारण स्थानीय समुदायमा पर्ने असर न्यूनीकरण गर्ने उपाय अपनाइने जनाइएको छ ।

बैठकले सीमा क्षेत्रहरूमा मदिरा सेवन गरी राति अबेरसम्म होहल्ला गर्ने गतिविधिलाई नियमन गर्ने निर्णय गरेको छ । यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा तथा पर्यटकीय वातावरणमा नकारात्मक असर परेको गुनासो आएपछि आवश्यक नियमनको पहल गर्ने सहमति भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *