`

नाइजेरियाले दक्षिण अफ्रिकाबाट एक हजारभन्दा बढी नागरिक फिर्ता ल्याउँदै

Nepal One HD २२ जेठ २०८३ २०:२७
विश्व

नाइजेरियाले लामो समयदेखि दस्तावेज वा कागजात नभएका अफ्रिकी कामदारहरूको गन्तव्य बनेको दक्षिण अफ्रिकामा आप्रवासी विरोधी तनाव बढ्दै गएपछि आफ्ना एक हजारभन्दा बढी नागरिकहरूलाई फिर्ता ल्याउने बताएको छ।

घानाले हालै दक्षिण अफ्रिकाबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएपछि अबुजाको यो कदम आएको हो।

नाइजेरियाको विदेश मन्त्रालयका प्रवक्ता किमिबी एबिएन्फाले शुक्रबार एएफपीलाई बताउनुभयो, “स्वेच्छिक स्वदेश फिर्तीका लागि नाइजेरियाले बिहीबारदेखि आफ्ना नागरिकको पहिचान गर्ने काम सुरु गरेको छ ।”

उहाँले भन्नुभयो, “कुल आँकडा अझै तयार भइसकेको छैन । हामी एक हजारभन्दा बढी व्यक्तिहरू त्यहाँ रहेको अपेक्षा गरेका छौँ ।”

प्रिटोरियास्थित नाइजेरियाको उच्चायोगले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा भनेको छ, “आप्रवासनसँग सम्बन्धित अपराध भएकाहरूलाई हिरासतमा लिनुको सट्टा अन्तिम स्वदेश फिर्ती उडानहरूमा जान अनुमति दिइयोस् ।”

महादेशको सबैभन्दा धनी औद्योगिक अर्थतन्त्र दक्षिण अफ्रिकाले लामो समयदेखि यस क्षेत्रका कामदारहरूलाई आकर्षित गर्दै आएको छ ।

तर ३० प्रतिशतभन्दा बढीको बेरोजगारी दरका कारण यसले हालैका हप्ताहरूमा नयाँ हिंसासहित बारम्बार विदेशीद्वेषी (आप्रबासीप्रतिको असहिष्णुता) दर्शाउँदै विरोध र प्रदर्शनहरूको सामना गरेको छ ।

पछिल्लो तनावले अफ्रिकामा आप्रवासन, आप्रबासीप्रतिको असहिष्णुता र अफ्रिकी महादेशका रैथाने जनता र विश्वभर छरिएर रहेका अफ्रिकी मूलका मानिसहरूबीचको ऐक्यबद्धता, सांस्कृतिक सम्बन्ध र एकतालाई प्रवद्र्धन गर्ने एक सामाजिक, राजनीतिक तथा सांस्कृतिक आन्दोलनबारे असहज बहसलाई पुनर्जीवित गरेको छ।

जुन ३० सम्ममा अवैध आप्रवासीहरूलाई निष्कासन गर्न एक नागरिक नेतृत्वको समूहले चेतावनी दिएको र यसका कारण विगतमा भएको आप्रवासी विरोधी अशान्तिले दर्जनौँको ज्यान लिएपछि हिंसाको डर बढाएको छ ।

दक्षिण अफ्रिकी सरकारले कागजात नभएका आप्रवासीविरुद्ध कारबाही बढाइरहेको बताएको छ तर नागरिकहरूलाई यस्ता मुद्दालाई नागरिकस्तरबाट व्यवस्थापन गर्ने प्रयास नगर्न आग्रह गरेको छ ।

तथ्याङ्क कार्यालयका अनुसार दक्षिण अफ्रिकामा ३० लाखभन्दा बढी विदेशीहरू बस्छन्, जुन यहाँको जनसङ्ख्याको ५.१ प्रतिशत हो ।

यहाँ रहेका विदेशीमध्ये ६३ प्रतिशतभन्दा बढी १६ सदस्यीय दक्षिण अफ्रिकी विकास समुदाय (एसएडिसी) समूहका देशहरूबाट आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *