`

जेलेन्स्कीको वार्ता प्रस्ताव पुटिनद्वारा अस्विकृत

Nepal One HD २३ जेठ २०८३ १२:१४
विश्व

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गरेको प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेका छन्। साथै उनले जेलेन्स्कीको टिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै उनको व्यवहारको आलोचना गरेका छन्।

शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा आयोजित एक कार्यक्रममा बोल्दै पुटिनले जेलेन्स्कीले पठाएको खुला पत्रबारे प्रतिक्रिया दिएका हुन्। जेलेन्स्कीले बिहीबार पुटिनलाई सम्बोधन गर्दै युद्धविराम र शान्ति प्रक्रियाबारे छलफलका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका थिए।

पत्रमा जेलेन्स्कीले पुटिनको लामो सत्तायात्रा, रूसको कमजोर बन्दै गएको अर्थतन्त्र र युद्धमा बढ्दो सैन्य क्षतिको उल्लेख गरेका थिए। उनले लेखेका थिए, “२६ वर्ष सत्तामा रहेपछि उमेरले आफ्नो प्रभाव देखाउन थाल्छ। समयसँगै तपाईंप्रतिको निराशा अझ बढ्दै जानेछ।”

यसको जवाफमा पुटिनले आफ्नो उमेरबारे गरिएको टिप्पणीको प्रतिवाद गर्दै नेतृत्व क्षमतामाथि जोड दिए। उनले भने, “उनले मेरो उमेरको कुरा गरेका छन्। विश्वमा मभन्दा पनि ज्येष्ठ नेताहरू छन्। मुख्य कुरा उमेर होइन, आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सकिन्छ कि सकिँदैन भन्ने हो।”

पुटिनले आफूले वार्ताको सम्भावना कहिल्यै बन्द नगरेको दाबी गरे। तर कुनै पनि वार्ताअघि आवश्यक तयारी र सहमतिको आधार तयार हुनुपर्ने उनको भनाइ थियो। उनले गत वर्ष अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सहमतिलाई सम्भावित समाधानको आधारका रूपमा उल्लेख गरे। उक्त सहमतिमा युक्रेनले डोनबास क्षेत्रबाट पछि हट्नुपर्ने प्रस्ताव समावेश रहेको बताइएको छ।

युक्रेनले भने त्यसप्रति असहमति जनाउँदै आफ्नो पत्रमा लेखेको छ, “हामीले सुनेका छौँ कि अलास्कामा युक्रेन र युरोपका केही मुद्दाहरू समाधान गर्ने आश्वासन दिइएको थियो। तर युक्रेन र युरोपसम्बन्धी निर्णय एन्कोरेजमा होइन, सम्बन्धित पक्षहरूको सहभागितामै हुनुपर्छ।”

रूसले लामो समयदेखि युक्रेनलाई आफूले दाबी गरेका चार क्षेत्रबाट सेना फिर्ता लिन दबाब दिँदै आएको छ। पुटिनले वर्तमान अवस्थामा वार्ताप्रति रुचि देखाउने पक्ष युक्रेन मात्र रहेको दाबी गर्दै युक्रेनले सैन्य दबाब कम गर्नका लागि मात्र संवादको प्रस्ताव गरिरहेको आरोप लगाए।

उनले आफ्ना सैनिकहरूलाई सम्बोधन गर्दै युद्ध अभियान जारी राख्न आग्रह गरे। “काम जारी राख,” उनले भने।

पुटिनको अभिव्यक्तिपछि राष्ट्रपति जेलेन्स्कीले शुक्रबार साँझ प्रतिक्रिया दिएका छन्। एक विज्ञप्ति जारी गर्दै उनले रूसले फेरि पनि युद्धको बाटो रोजेको आरोप लगाए।

“दुर्भाग्यवश, रूसले फेरि युद्ध नै रोजेको छ। उसले यो युद्ध अन्त्य गर्न चाहेको देखिँदैन। यस्तो कमजोर प्रतिक्रियाले धेरै मानिसहरू निराश हुनेछन्,” जेलेन्स्कीले भने।

उनले रूसमाथि थप आर्थिक दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै युद्ध सञ्चालनका लागि प्रयोग हुने रूसी आर्थिक स्रोतहरू कमजोर पार्नुपर्ने बताए। युक्रेनले पछिल्लो समय रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउँदै आएको छ, जसलाई युद्ध कोषमा असर पार्ने रणनीतिक प्रयासका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *